काठमाडौं– च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब युभेन्टस र पोर्चुगिज क्लब पोर्टो साथै जर्मन क्लब बोरुसिया डोर्टमुन्ड र स्पेनिस क्लब सेभियाबीचको खेल मंगलबार राति पौने २ बजे हुँदै छ।
पहिलो लेगमा पोर्टोसँग २–१ ले हारेको युभेन्टस र डोर्टमुन्डसँग ३–२ ले हारेको सेभियाका लागि दोस्रो लेगमा दबाब बढि रहेको छ। पहिलो लेगमा भेट हुँदा युभेन्टसविरुद्ध युरोपियन प्रतिस्पर्धामा पोर्टोले पछिल्ला छ खेलमा पहिलो पटक जितेको हो। पछिल्ला पाँच खेलमा पोर्टोले चार खेल हारेको थियो भने एक खेल बराबरी खेलेको थियो।
युभेन्टस आफ्नो रंगशालामा पोर्टोविरुद्ध यसअघि बलियो देखिने गरेको थियो। युभेन्टसले घरेलु मैदानमा पोर्टोलाई २००१ को अक्टोवरमा ३–१ ले, २०१७ को मार्चमा १–० ले हराएको थियो। च्याम्पियन्स लिग नकआउट चरणमा युभेन्टसले पछिल्ला १२ घरेलु मैदानको खेलमा ८ खेलमा जित, २ बराबरी र २ हार भोगेको छ। पोर्टोविरुद्धको खेलमा युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई सुरुवाती ११ मा नै खेलाउने तयारी देखिन्छ।
युभेन्टस प्रशिक्षक एन्ड्रे पिर्लोले लिगमा लाजियोसँगको खेलमा रोनाल्डोलाई आराम दिइएको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन्।
के भन्छन् प्रशिक्षक?
एन्ड्रे पिर्लो, युभेन्टस – नतिजा अझै पनि खुला नै छ। अगाडि कसरी बढ्ने भन्ने सोचेर खेलमा हामी चनाखो हुन जरुरी छ। च्याम्पियन्स लिग यात्रामा यो हाम्रो निर्णायक खेल हो। हामीलाई उनीहरुले खुलेर खेल्न दिने छैनन्। साँघुरिएको डिफेन्समा हामी आफ्नो कलात्मक खेलमा बढ्नुपर्ने हुन्छ। धैर्यताको महत्व हुनेछ।
सर्जियो कोन्सेसाओ, पोर्टो – हामी अघिल्लो चरणमा पुग्न सक्नेसम्म पूरा मेहनत गर्नेछौँ। यो प्रतिस्पर्धा ११ विरुद्ध ११ जनाकै हो, त्यसमा थप पाँच परिवर्तित खेलाडीसमेत। ती सबै खेलाडीले आफ्नो क्लबका लागि सक्नेसम्मको बल लगाउनेछन्। च्याम्पियन्स लिगमा पोर्टोको इतिहास हेर्ने हो भने निकै राम्रो छ। हामी अहिले पनि सकारात्मक नतिजाका लागि तयार छौँ।
सम्भावित सुरुवाती ११
युभेन्टस – भोएचेक शचेन्सले, क्वाडरार्डो, बोनुची, डि लिच्ट, एलेक्स सान्ड्रो, फेडेरिको केएसा, राबियोट, आर्थर, राम्से, मोराटा र रोनाल्डो।
पोर्टो – एगुस्टिन मार्चेसिन, मानाफा, पेपे, डिएगो लाट, जाइडु, सर्जियो ओलिभिरा, उरिबे, ओटाभिरो, कोरोना, मारेगा र टारेमी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।