काठमाडौं- आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, बागमती प्रदेशकी वर्षा महतो राष्ट्रियस्तरको कविता प्रतियोगितामा प्रथम भएकी छिन्।
आइतबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यूएनडीपी नेपाल र रोतो बंगाला फाउण्डेशनद्वारा आयोजित कविता प्रतियोगितामा उनी प्रथम भएकी हुन्।
उनले ‘नारी कसैका लागि भार हाेइन’ शिर्षकमा कविता वाचन गरेकी थिइन्।
जननमुना माध्यमिक विद्यालय, कर्णली प्रदेशकी पूजा पाठक दोस्रो भएकी थिइन्। उनले ‘महिलाको सुरक्षा समाज र रोजगार, नेपालको समृद्धिको आधार’ शीर्षकमा कविता वाचन गरेकी थिइन्।
अमर माध्यमिक विद्यालय, गण्डकी प्रदेशकी सृजना सपकोटा र दमकडा नवदीप माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशकी सपना भण्डारी तेस्रो भएकी छन्।
खनालले ‘नेतृत्व हो नारीको’ र सपकोटाले ‘नेपाल र नारी’ शीर्षकमा कविता वाचन गरेकी थिइन्।
युवा कविहरुलाई कवितामार्फत् रचनात्मक रुपले आफ्नो विचार व्यक्त गर्न र लैङ्गिक समानतामा जागरूकता बढाउन प्रोत्साहित गर्न उक्त प्रतियोगितमा गरिएको आयोजकले बताएका छन्।
कार्यक्रममा यूएनडीपीका आवासीय प्रतिनिधि आइसानी मेडागोन्गोदा लाबेले युवा कविहरुलाई प्रोत्साहित गर्न र लैङ्गिक समानता र समाजको मानसिकता परिवर्तन गर्नका लागि कवितामार्फत् प्रोत्साहित गर्न पाउँदा खुशी लागेको बताइन्।
रातो बंगला फाउण्डेशनकी अध्यक्ष शान्ता दीक्षितले वाल्यकालको विकासको आवश्यकता र बच्चाहरूलाई शुरुवाती चरणदेखि नै लैङ्गिक समानताको बारेमा शिक्षित गराउन जोड दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।