काठमाडौं–हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाइँदै आएको छ। आज परेको १११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न व्यक्तिले शुभकामना सन्देश व्यक्त गरेका छन्।
महिला अधिकार र महिलाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रम गर्दै दिवस मनाउँदै छन् ।
दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका नेताले शुभकामनासमेत दिएका छन् ।
राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने उल्लेख छ।
त्यसैगरी, राष्ट्रपति भण्डारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरेकी छन्।
यस्तै, उपराष्ट्रपति पुनले सन्देश जारी गर्दै जनसंख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनु पर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले सन्देशमार्फत राज्यले लिएको नीतिले महिला सहभागिता र लैङ्गिक समानतामा उल्लेख्य प्रगति भएको तथा राजनीति र प्रशासन क्षेत्रमा महिला सहभागितामा उल्लेख्य वृद्धि भएको बताएका छन्।
दिवसकै अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै शुभकामना दिएका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि दिवसको शुभकामना दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।