काठमाडाैं– राजविराज नगरपालिकाबाट नलकटुवा पेस्तोलसहितदुई युवक पक्राउ परेका छन्। हातहतियार खरखजाना मुद्दामा ११ महिना कारागारमा थुनामा रहिसकेका विष्णुपुर गाउँपालिका–७ का २० वर्षीय महेशकुमार शर्मासहित दुई युवकलाई आइतबार पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलन गरी जनाएको हाे।
राजविराजमा स ७ प ९६७० नम्बरको मोटरसाइकलमा घुमिरहेका चालक शर्मा र मोटरसाइकल पछाडि सवार विष्णुपुर–५ का १९ वर्षीय प्रमोद साहलाई राजविराज–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।
विशेष सूचना पाएका जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय राजविराजको टोलीले उनीहरुलाई एक थान कटुवा पेस्तोल र दुई थान गोलीसहित पक्राउ गरेको जनाइएको छ।
शर्माका साथबाट २०७४ जेठ १३ गते पनि एक थान कटुवा पेस्तोल र सोमा लाग्ने तीन थान गोली फेला परेको थियो। उक्त मुद्दामा शर्मा ११ महीना कैदमा बसेको थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।