मुम्बई- आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले किंग्स इलावेन पञ्जावमाथि रोमाञ्जक जित हात पारेको छ। बुधबार राति सम्पन्न खेलमा मुम्बईले पञ्जावलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै रोमाञ्जत जित हात पारेको हो।
जितपछि मुम्बई १३ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। राजस्थान र पञ्जावको पनि समान १२-१२ अंक छ। जसले गर्दा प्लेअफ समिकरण रोमाञ्चक बनेको छ। हैदरावाद र चेन्नई यसअघि प्लेअफमा पुगिसकेका छन्। अन्तिम चरणको खेलअघि बाँकी २ स्थानका लागि पाँच टिमको भिडन्त छ।
मुम्बईले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जावले ५ विकेट गुमाएर १ सय ८३ रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएको अवस्थामा युवराज सिंह मुम्बईका मिचेल म्याक्लिघनको बलमा १ रनमै आउट भएका थिए।
त्यअसघि पञ्जावका लागि ओपनर लोकेश राहुलले ९४ रन जोडे। उनले ६० बलमा १० चौका र ३ छक्का प्रहार गरे। १९ ओभरको तेस्रो बलमा जसप्रति बुमराहको बलमा वेन कटिङबाट राहुल क्याच हुनु पञ्जावका लागि दुर्भाग्य सावित भयो। पञ्जावका लागि आरोन फिन्चले ४६ र क्रिस गेलले १८ रन जोडे। बलिङतर्फ मुम्बईका बुमराहले ३ विकेट र म्याक्लिनघनले २ विकेट हात पारे।
पहिले ब्याटिङ गरेको मुम्बईले ८ विकेटको क्षतिमा १ सय ८६ रन जोड्यो। उसका लागि केइरन पोलार्डले २३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५० रन जोडे। क्रुनाल पाण्डेल ३२, सूर्यकुमार यादवले २७ र इशान किनसले २० रनको योगदान गरे। मुम्बईले ९ ओभरमा ४ विकेटको ७१ रन जोडेर कमजोर सुरुवात गरेपनि पोलार्डले इनिङ उकासेका थिए। बलिङतर्फ पञ्जावका एन्डियू टेले ४ र कप्तान रविचन्द्रन आस्विनले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।