काठमाडौं– बायर्न म्युनिकले जर्मन क्लब बुन्डेसलिगा फुटबलमा रोमाञ्चक जित निकालेको छ। शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमन्डलाई ४–२ गोलअन्तरले पराजित गरेको हो। घरेलु टिम बायर्नले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।
बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे। त्यस्तै, लेयोन गोरेटज्काले एक गोल थपे। डर्टमन्डका एर्लिङ हालान्डले दुई गोल गरे। खेलको दोस्रो मिनेटमा नै हालान्डले गोल गर्दै डर्टमन्डलाई १–० को अग्रता दिलाए।
नवौं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा डर्टमन्डले २–० को अग्रता बनायो। खेलको २६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २–१ गोलको स्थितिमा ल्याए। ४४ औं मिनेटमा लेवान्डोस्कीले नै पेनाल्टीबाट गोल गरेपछि बायर्नले पहिलो हाफसम्म २–२ गोलको बराबरी बनाएको थियो। ८८ औं मिनेटमा गोरेटज्काले गोल गर्दै बायर्नलाई ३–२ को अग्रता दिलाए। ९० औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गोल गर्दै बायर्नलाई ४–२ गोलको जित दिलाए।
लिगको दोस्रो स्थानमा रहेको लाइपजिगले पनि जित निकालेको छ। लाइपजिगले फ्रेइबर्गलाई ३–० ले पराजित गरेको हो। शीर्ष स्थानमा रहेको बायर्नले जितसँगै २४ खेलबाट ५५ अंक बनाएको छ। पराजित डर्टमन्डको २४ खेलबाट ३९ अंक छ। दोस्रो स्थानमा रहेको लाइपजिगको २४ खेलबाट ५३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।