काठमाडौं– नेपालमा थप ३ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्दको खोप आउने भएको छ। कोभ्याक्स फ्यासिलिटी अन्तर्गत नेपालले निःशुल्क रुपमा उक्त खोप पाएको हो। कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्या मध्ये २० प्रतिशतलाई पुग्ने गरी एक करोड ३० लाख डोज खोप उपलब्ध गराउने बताएको छ।
उक्त खोपमध्ये पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने भएको हो। कोभ्याक्सले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउने भएको हो। हाल नेपालमा यही खोप प्रयोगमा ल्याइएको छ।
बिहान ११ः१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो खेप अन्तर्गतको खोप आइपुग्ने बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले उक्त खोप लिन आफू पनि विमानस्थलमा जाने जानकारी दिए।
विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।