काठमाडौं– ब्वाइज युनियन क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा साँघुराे जित निकालेको छ। शनिबार भएको खेलमा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १–० गोलले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा ब्वाइज युनियनले टुसालविरुद्ध संघर्षपूर्ण जित निकालेको हो। ब्वाइज युनियनका मिलन लिम्बुले गोल गरे।
खेलको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको ब्वाइज युनियनले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै जित निकालेको हो।
खेलको ७७ औं मिनेटमा मिलनले गोल गर्दै ब्वाइज युनियनलाई १–० गोलको अग्रता दिलाए। बाँकी समयमा टुसालले गोल फर्काउन नसक्दा हार ब्यहोरेको हो।
चौथो स्थानमा रहेको ब्वाइज युनियनले यो जितसँगै १० खेलबाट १७ अंक बनाएको छ। पाँच खेलमा जित, तीन खेलमा हार र दुई खेलमा ब्वाइज युनियनले बराबरी खेलेको छ।
त्यस्तै, पराजित भएको टुसाल क्लब भने लिगको आठौं स्थानमा छ। टुसालले १० खेलमध्ये पाँच खेलमा हार, तीन खेलमा बराबरी र दुई खेलमा जित निकाल्दै ९ अंक बनाएको छ। लिगको शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लबको भने ९ खेलबाट २५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।