काठमाडाैं– महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघाटसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ।
पशुपति क्षेत्रलाई फोहोरमुक्त बनाउन वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा शनिबार बिहान राममन्दिर अघि सफाइ गरिएको हो।
सफाइबाट १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले बताए। सफाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री भानुभक्त ढकालको समेत उपस्थिति थियो।
सफाइ अभियानपछि मन्त्री ढकालले महाशिवरात्रिका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा राख्नुपर्नेमा जोड दिए।
महाशिवरात्रिपछि फागुन २९ गते शनिबार पुनः पशुपतिनाथ मन्दिरको राममन्दिर प्राङ्गणमा सरसफाइ गरिने अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।
यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथको उत्तर पश्चिमी भागमा पनि सफाइ गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।