काठमाडाैं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा आफूले कोरेकै गोरेटोमा आएको टिप्पणी गरेका छन्। साथै उनले अब आफूहरूसँग मिलेर एउटै पार्टीमा बनाउन विप्लवलाई प्रस्ताव समेत गरेका छन्।
शनिबार नेकपा कार्यालय पेरिसडाँडामा आयोजित 'पार्टी समायोजन कार्यक्रम'मा प्रचण्डले आफू विप्लवलाई छिट्टै आफ्नो पार्टीमा स्वागत गर्न आतुर रहेको समेत बताए।
‘विप्लवजी मैले कोरेकै बाटोमा आउनु भएको छ। छिट्टै यस्तो कार्यक्रम (पार्टी समायोजन तथा प्रवेश)मा स्वागत गर्ने प्रतीक्षामा छु,’ उनले भने।
विप्लवसँग आफू काँधमा काँध मिलाएर हिँड्न तयार रहेकाे प्रचण्डको भनाइ छ। ‘उहाँ अन्ततः यही लाइन र यही टिममा आउनैपर्छ। हामी उहाँलाई पनि स्वागत गर्नेछौं। र, त्यो दिनको प्रतीक्षामा छौं, जहाँ हामी काँधमा काँध मिलाएर अगाडि बढ्ने छौं,’ प्रचण्डले भने।
यस्तै, आफू रहेकाे पार्टी नै आधिकारिक, वैज्ञानिक र शक्तिशाली पार्टी रहेकाे समेत उनले जिकीर गरे। ‘सांसदहरूको संख्या र केन्द्रीय सदस्यहरूको संख्याले पुष्टि गरिसकेको छ, आधिकारिक नेकपा हामी हौं,’ प्रचण्डले भने, ‘हामी नै मुलधार हौं भन्ने सावित भइसकेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।