काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नख्खु कारागारमा रहेका उनकै पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वलीलाई भेटेर फर्किएका छन्।
कारागारामै रहेका वलीलाई भेट्न ‘विप्लव’सहितका नेताहरू शनिबार बिहान साढे ११ बजे नख्खु पुगेका हुन्। विप्लवसँग खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदयबहादुर चलाउने ‘दीपक’ कारागार पुगेका थिए।
चार नेतासँगको संयुक्त भेटपछि ‘विप्लव’ले वलीसँग छुट्टै पनि भेटेको उनीनिकट एक नेताले बताए। वलीलाई प्रक्रिया पुर्याएर आइतबारसम्म छोड्ने सक्ने कारागार प्रशासनले जनाएको छ।
चन्दले शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मन्त्री निवास पुल्चोक पुगेर भेटेका थिए।
सरकारसँगको तीन बुँदे सहमतिपछि ‘विप्लव’ नेकपा शुक्रबारदेखि शान्तिपूर्ण राजनीतिमा आएको छ। सहमति अनुसार सरकारले विभिन्न कारागार तथा हिरासतमा भएका ‘विप्लव’ नेकपा नेता/कार्यकर्तालाई रिहा गर्न थालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते ‘विप्लव’ नेकपालाई आतंकारी समूह घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो। वार्ता र सहमति पछि सरकारले बिहीबार प्रतिबन्ध फुकुवा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।