काठमाडाैं– नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेता घनश्याम भुषालले सरकारद्वारा गरिएको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासको विरोध गरेका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेता भुषालले विरोध प्रदर्शनमा उत्रिएका जनतामाथि कामचलाउ सरकारका दुई जना मन्त्रीले पहिले निर्वाचनमा पटक–पटक गरेकाे बाचा बिपरित दमनपूर्ण हर्कत गरेको बताएका हुन्।
'स्थानीयको समस्या समाधान नगरी करिडोरबारे कुनै काम सुरु भए राजनीतिबाटै सन्यास लिने घोषणा गर्ने विष्णु पौडेल तिनै नागरिकलाई लाठी बर्साउन पुगे। सरकारका मन्त्रीहरुले सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको जुन नांगो नाच नाचे त्यसको हिसाब किताब हुनेछ,' उनले भनेका छन्।
भुषालले जनतालाई दु:ख दिएर अरु कुनै नाजायज फाइदा लिने चहानलाई पुरा हुन नदिने समेत बताएका छन्।
‘कायरहरुले कसै गरे पनि स्थानीय वासिन्दाका हक–अधिकार खोस्न सक्ने छैनन्,’ उनले भनेका छन्, ‘औद्योगिक कोरिडोर बन्ने हल्ला चलाएर जग्गा दलालीको लागि वातावरण बनाउने बाहेक तथाकथित शिलान्यासको कुनै अर्थ छैन, जनतालाई दुख दिएर अरु कुनै नाजायज फाइदा लिने उनीहरुको चाहनालाई पुरा हुन दिइने छैन।’
शुक्रबार मोतीपुर औद्योगिक क्षेत्रमा शिलान्यास गर्न अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पुग्ने बित्तिकै स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका थिए।
यद्यपी ठूलो सुरक्षा घेराबीच उनी शिलान्यास गरेर फर्किएका थिए। प्रहरीसँगकाे झडपमा तीनजना स्थानीय घाइते भएका छन् अन्य दुईजनालाई नियन्त्रणमा लिइएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।