काठमाडौं– लिग लिडर सातदोबाटो युथ क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आठौं जित निकालेको छ। शुक्रबार भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोले सहज जित निकालेको हो। सातदोबाटोका लागि अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले गोल गरे।
बाँसबारीले आत्मघाति गोल गर्दा सातदोबाटोले एक गोल भने उपाहार स्वरुप पाएको थियो। बाँसबारीका लागि निशान सुनारले गोल फर्काए।
खेलको ११ औं मिनेटमा अशिमले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफको अन्तिम समयमा बाँसबारीका अमृत श्रेष्ठले आत्मघाति गोल गर्दा सातदोबाटोले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो।
खेलको ५२ औं मिनेटमा प्रवेशले गोल गर्दै सातदोबाटोलाई ३–० को अग्रता दिलाए। ६२ औं मिनेटमा दिनेशले गोल गरेपछि सातदोबाटो ४–० ले अघि रहेको थियो। ७७ औं मिनेटमा निशानले गोल गर्दै ४–१ को स्थितिमा पुर्याएपनि बाँसबारीले हार टार्न सकेन।
शुक्रबार नै भएको अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले पुल्चोक स्पोर्ट्स क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको छ।
शीर्ष स्थानमा रहेको सातदोबाटोले जितसँगै ९ खेलमध्ये ८ खेलमा जित र एक खेलमा बराबरी खेल्दै २५ अंक बनाएको छ।
दोस्रो स्थानमा रहेको खुमालटार युथ क्लबको ९ खेलबाट २२ अंक छ। तेस्रो स्थानमा रहेको बाँसबारीको समान खेलबाट १८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।