काठमाडौं– ताहाचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा सञ्चालन गरिएको मिनि क्यासिनोमा प्रहरीले छापा मारेर १० जनालाई पक्राउ गरेको छ। उक्त होटलको अन्डरग्राण्डमा सञ्चालित क्यासिनो सिएमजी क्लब अवैध रुपमा सञ्चालन भएको सूचना आएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले छापा मारेको थियो।
सोक्रममा क्यासिनो सञ्चालन गर्ने र खेलाउने गरेर १० जना पक्राउ परेका हुन्। उनीहरुबाट २२ लाख ९६ हजार ८० रुपैयाँ बरामद भएको छ। क्यासिनोमा खेल्न गएका भारत मोतिहारीका रन्जितकुमार जैसवाल, सोहन प्रसाद, मुमताज मियाँ, शेख मुर्तुजा अलि, जनकपुरका राजकुमार सिंह र बाराका टिन्कुप्रसाद पक्राउ परेका छन्।
अवैध क्यासिनो सञ्चालन गर्ने क्यासिनोका मेनेजर महेश मल्ल, सहायक मेनेजर कमलदेव चौधरी, एडमिन स्टाफ अजय यादव, क्यासियर सचिन वाग्लेसमेत पक्राउ परेका छन्
उनीहरुको साथबाट प्रहरीले झण्डै २३ लाखसँगै ५ लाख ७० हजार रुपैयाँ बराबरको क्यासिनो क्वाइन ३९० वटा, ९ लाख रुपैयाँ बराबरको ३ थान चेक, १५ बुक तास, ग्रिन गोल्ड र प्लाटिनम कार्ड ३ थान, पैसा गन्ने मेसिन १ थान, सोल्ड मिटर रिडिङ बुक १ थान बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।