काठमाडौं– चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शुक्रबार बिहान भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १–० गोलले पराजित गरेको हो।
चेल्सीका मासन माउन्टले गोल गर्दै चेल्सीलाई जित दिलाए। घरेलु टिमविरुद्ध निकै राम्रो खेलेको चेल्सीले आफ्नो शीर्ष चारको यात्रालाई सहज समेत बनाएको छ। खेलको ४२ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई १–० गोलको अग्रता दिलाए।
पहिलो हाफमा बनाएको अग्रतालाई दोस्रो हाफमा पनि कायमै गर्दै चेल्सीले लिभरपुललाई १–० ले पराजित गरेको हो।
अर्को खेलमा टोटेनहमले फुलहामलाई १–० ले पराजित गरेको छ। खेलको १९ औं मिनेटमा फुलहामले आत्मघाति गोल गरेपछि टोटेनहमले १–० को अग्रता बनाएको थियो। यो अग्रतालाई कायमै गर्दै टोटेनहमले जित निकालेको हो।
वेष्ट ब्रुमलाई १–० ले पराजित गर्दै एभर्टन भने लिगको पाँचौं स्थानमा उक्लिएको छ। एभर्टनको जितका लागि रिचार्लिसनले खेलको ६५ औं मिनेटमा गोल गरे।
लिभरपुललाई पराजित गरेको चेल्सी लिगको चौं स्थानमा उक्लिएको छ। चेल्सीले २७ खेलबाट ४७ अंक बनाएको छ। पराजित लिभरपुल भने समान खेलबाट ४३ अंक बनाउँदै लिगको सातौं स्थानमा छ।
लिगको शीर्ष स्थानमा भने म्यानचेस्टर सिटी छ। सिटीको २७ खेलबाट ६५ अंक हुँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको समान खेलबाट ५१ अंक छ। लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीको भने २० खेलबाट ५० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।