काठमाडौं- सैनिक ‘कू’ को विरोधमा उत्रिएका म्यानमारका जनतामाथि भइरहेको दमनको विरोधमा बृहत् नागरिक आन्दोलने म्यानमारको दूतावासअघि प्रदर्शन गर्ने भएको छ।
शुक्रबार बिहान ११ बजे म्यानमारको दूतावास, नख्खु उकालो, भैंसेपाटीमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको बृहत नागरिक आन्दोलनले जनाएको छ। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गठन भएको बृहत् नागरिक आन्दोलनले विभिन्न विषयमा प्रदर्शन गर्दै आएको छ।
म्यानमारमा माघ १९ गते सेनाले शासन सत्ता आफ्नो हातमा लिएको थियो। उसले निर्वाचनमा धाँधली भएको भन्दै संसद् बैठक बस्नुअघि नै आङ सान सूची सहित उनको पार्टी नेशनल लिग फर डेमोक्रेसीका कैयौं नेताहरुलाई गिरफ्तार गरेको थियो।
उसले एक वर्ष लामो संकटकाल पनि घोषणा गरेको छ। तर सैनिक कूपछि नै नागरिकहरुले स्वस्फूर्त प्रदर्शन गर्दै आएका छन्। बुधबार भने सेनाले तीव दमन गरेको थियो। त्यहाँ एकैदिन ३८ जना मारिएका थिए। सडक नै रगताम्मे भएका फोटोहरु सार्वजनिक भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।