काठमाडौं– श्री भगवती क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री भगवतीले झम्सिखेलविरुद्ध संघर्षपूर्ण जित निकालेको हो।
श्री भगवतीका नवराज गुरुङ र मोहन बहादुर थापा मगरले गोल गरे। झम्सिखेलले आत्मघाति गोल गर्दा एक गोल भने श्री भगवतीले उपाहार स्वरुप पाएको थियो। त्यस्तै, झम्सिखेलका मदन स्याङ्तान र अनिष चौधरीले गोल गरे।
खेलको ११ औं मिनेटमा नै सुनिल शाहीले आत्मघाति गोल गर्दा श्री भगवतीले १–० गोलको अग्रता बनाएको थियो। खेलको ३२ औं मिनेटमा मदनले गोल गर्दै झम्सिखेललाई पहिलो हाफसम्म १–१ गोलको बराबरीमा पुर्याए।
५७ औं मिनेटमा नवराजले गोल गर्दै श्री भगवतीलाई २–१ को अग्रता दिलाए। तर ७० औं मिनेटमा झम्सिखेलका अनिषले गोल गर्दै २–२ गोलको बराबरी दिलाए। ८४ औं मिनेटमा मोहनले गोल गर्दै श्री भगवतीलाई ३–२ गोलको जित दिलाए।
आरसिटी र श्री कुमारीले अंक बाँडे
बुधबार नै भएको बी डिभिजन लिगमा रानीपोखरी कर्नटर टिम (आरसिटी) र श्री कुमारी क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
१० खेलाडीमा सीमित आरसिटीविरुद्ध पुनरागमन गर्दै श्री कुमारीले बराबरी खेलेको हो। खेलको तेस्रो मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई १–० गोलको अग्रता दिलाए।
तर आरसिटी ६८ औं मिनेटमा १० खेलाडीमा झर्याे। सुनिल राउत कुर्मीले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
खेलको ८४ औं मिनेटमा अर्जुन गुरुङले गोल गर्दै श्री कुमारीलाई १–१ गोलको बराबरी दिलाए। श्री भगवतीले झम्सिखेल युथ क्लबलाई पराजित गरेसँगै लिगको दोस्रो जित निकालेको हो।
श्री भगवतीले ९ खेलमध्ये दुई खेलमा जित, तीन खेलमा बराबरी र चार खेलमा हार ब्यहोर्दै ९ अंक बनाएको छ। पराजित झम्सिखेलको भने ९ खेलबाट ६ अंक छ।
त्यस्तै, आरसिटीको ९ खेलबाट १३ अंक हुँदा श्री कुमारीको ९ खेलबाट ८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।