काठमाडाैं– मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन अपिल गरेको छ।
यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकाेमा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ वाग्मतीमा जाने समितिले जनाएको छ।
पानीको परिमाण एकै पटक बढ्न सक्ने भएकाले सजग रहन भनिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए
उनले भने, ‘एक दुई दिनभित्रै सुन्दरीजलसम्म पानी आइपुग्ने भएकाले सजग रहन सुन्दरीजलदेखि बल्खुसम्म नै माइकिङ हुनेछ।’
झण्डै दुई दशक पहिले निर्माण शुरु भएको आयोजनाका मुख्य पूर्वाधारका रुपमा रहेको सुरुङको निर्माण गत वर्ष सकिएको थियो।
निर्माण सकिएसँगै समितिले गत वर्ष असारमा सुरुङ परीक्षण गरेको थियो। सो परीक्षणका क्रममा ढोका खुल्दा दुर्घटना भएको थियो।
मानवीय क्षतिसमेत भएको दुर्घटनापछि समितिले त्यहाँ रहेको त्रुटि सच्याएर पुनः परीक्षण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।