काठमाडाैं–राष्ट्रिय युवा वैज्ञानिक एकेडेमी नेपाल (नयन) ले नेपाली युवा वैज्ञानिक तथा अध्येताबीचमो जनसांखिकी, अनुसन्धानको वर्तमान अवस्था, काम र जीवनबीचको सन्तुलन, राष्ट्रिय\अन्तर्राष्ट्रिय र अन्तर विधागत सहकार्यको अवस्था र अनुसन्धानका उत्पादकत्वबारे राष्ट्रिय स्तरको सर्वेक्षण गरेको थियो। गत भदौदेखि मंसिरसम्म अनलाइनमार्फत गरिएको सर्वेक्षणमा देशभरका २४४ जना सहभागी थिए।
सर्वेक्षणमा भाग लिने सहभागीको लिङ्ग, भौगोलिक बसाइ र जातिगत विवरणको विश्लेषण गर्दा सर्वेक्षण लैङ्गिक, भौगोलिक र जातीय हिसाबले समावेशी नरहेको बताइएको छ। सर्वेक्षणमा २६ देखि ३५ वर्ष उमेरका विशेष गरी ब्राह्मण, क्षेत्री, ठकुरी र सन्यासी समुदायका पुरुषहरूको बाहुल्य थियो।
सहभागीमध्ये स्नातकोत्तर तह र विद्यावारिधि गरेका ८७ प्रतिशत थिए भने प्राकृतिक विज्ञान र व्यवहारिक विज्ञान, इन्जिनियरिङ र चिकित्सा शास्त्र पढेका ८८% थिए। सहभागीमध्ये ६३% अहिले वाग्मती प्रदेशमा बसोबास गर्छन् र सर्वेक्षणमा सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश नम्बर २ बाट ५ प्रतिशतभन्दा पनि कम सहभागी थिए। सहभागीमध्ये ४५ प्रतिशतले आफूले रोजगारीको विकल्प खोज्न थालेको बताएका थिए।
युवा वैज्ञानिकका लागि विद्यमान अनुसन्धान सहायताको वातावरण अपुग र अपर्याप्त रहेको छ। सर्वेक्षणमा सहभागीमध्ये धेरैजसोले आफूले काम गरेका संस्थाहरूबाट अनुसन्धान सहायता पाउने गरेको बताए पनि त्यो अपर्याप्त रहेको बताएका थिए। सहभागीमध्ये १८ प्रतिशतले अनुसन्धान सहायताको रकम पर्याप्त नै रहेको बताए।
नेपाली युवा वैज्ञानिकहरूको अनुसन्धान सहकार्यमा आधारित भए तापनि अन्तर विधागत र अन्तरदेशीय सहकार्यको अवस्था न्यून रहेको देखिन्छ । नेपाली वैज्ञानिकहरूले तीन वर्षमा औसत ६ वटा जर्नल लेख लेख्ने, ५ पटक विज्ञान सम्मेलनमा भाग लिने र ३ वटा लेख पत्रपत्रिकामा छपाउने र एउटा पुस्तकको च्याप्टर लेख्ने गरेको सर्वेक्षणले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।