काठमाडाैं– भारतीय सेनामा भर्ती हुनका लागि नेपाली युवा भारतको उत्तर प्रदेश राज्यको नौतनवा पुगेका छन्। भारतीय सेनामा नेपाली युवा भर्तीका लागि ‘जिआरडी’ (गोरखा रिक्रुटिङ डिपोट’ले आवेदन लिएको हो।
मार्च ४ देखि १५ तारिखसम्म भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया पूरा हुने भारतीय अखबार ‘अमर उजाला’ को अनलाइन संस्करणमा जनाइएको छ।
सोही प्रक्रियामा सामेल हुनका लागि बुधबार ठुलो संख्यामा नेपाली युवा नौतनवा पुगेका हुन्।
४ मार्चका दिन लुम्बिनी प्रदेशका कपिलवस्तु, परासी, बर्दिया, अर्घाखाँची र दाङ जिल्लाका युवाको भर्ती प्रक्रिया पूरा हुने जनाइएको छ। यसैगरी क्रमशः दैनिक विभिन्न जिल्लाबाट छानिएका आवेदकहरुको भर्ती प्रक्रिया पूरा गरिने छ।
नौतनवा इन्टर कलेजको मूख्य गेटमा भर्नासम्बन्धी विस्तृत सूचना प्रकाशित गरिएको र बुधबार नौतनवा पुगेका नेपाली युवाले सोही सूचनाका आधारमा आफ्नो पालो कुरेर बसेका छन्।
भारतीय सेनामा भर्ना हुनका लागि नौतनवा पुगेका नेपाली युवाहरु नगरका विभिन्न होटल तथा चिनजानका व्यक्तिहरुको डेरामा बस्ने बन्दोबस्तका लागि जुटेको समाचारमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।