काठमाडाैं- विशेष अदालतले गृह मन्त्रालयका एक अधिकृतलाई २ करोड बराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सफाइ दिएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत अधिकृत रमाकान्त अर्याललाई विशेषले भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो।
जागिर खाएको १६ वर्षको अवधिमा दुई करोड रुपैयाँभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले २०७६ जेठ १६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अर्याल २३ भदौ २०५९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए। पछिल्लो समय उनी अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए।
त्यहीँ रहेका बेला उनीविरुद्ध उजुरी परेपछि आयोगले छानबिन गरेको थियो। २०७५/२०७६ को आर्थिक वर्षसम्म उनको सम्पत्ति चार करोड ५६ लाख ८१ हजार आठ सय ४१ रुपैयाँ रहेको दाबी अख्तियारको थियो । त्यसमध्ये दुई करोड ६ लाख ८९ हजार एक सय ११ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी अख्तिायरले गरेको थियो। तर, विशेषले अर्यालको सम्पत्ति पुष्टि भएको दाबी गरे।
जागिरको अवधिमा अध्यागमन कार्यालयलगायत उनी अतिरिक्त कमाइ हुने कार्यालयमा बसेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो। अख्तियारको छानबिनपछि अध्यागमनबाट उनको गृहमा सरुवा भएको थियो। अर्यालले धेरैजसो सम्पत्ति श्रीमती सरिता नेपालको नाममा राखेको आरोपपत्रमा उल्लेख छ। श्रीमतीको नाममा सेयर खरिददेखि घर निर्माणसम्म गरेको आयोगले दाबी गरेको थियो। अख्तियारले अर्यालकी श्रीमतीलाई पनि विपक्षी बनाइ मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।