काठमाडौं– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा सिटीले वुल्भ्सलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम म्यानचेस्टर सिटीको जितमा गाब्रियल जिससले दुई गोल गर्दा रियाद महरेजले एक गोल गरे। एक गोल भने वुल्भ्सले आत्मघाति गोल गरेपछि उपहार स्वरुप सिटीले पाएको थियो। खेलको १५ औं मिनेटमा नै लिन्डर डेन्डकरले आत्मघाति गोल गरेपछि वुल्सविरुद्ध सिटीले १–० गोलको अग्रता बनायो। यही आत्मघाति गोलको आधारमा सिटीले वुल्भ्सविरुद्ध पहिलाे हाफसम्म १–० गोलको अग्रता बनाएको थियो। खेलको ६१ औं मिनेटमा कोनर कोडीले गोल गर्दै वुल्भ्सलाई १–१ गोलको बराबरी दिलाए। तर खेलको अन्तिम १० मिनेट सम्हालिन नसक्दा वुल्भ्सले सिटीसँग ४–१ गोलको हार ब्यहोरेको हो।
खेलको ८० औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २–१ गोलको अग्रता दिलाए। ९० औं मिनेटमा रियादले गोल गरेपछि सिटीले ३–१ गोलको अग्रता बनायो। खेलको अतिरिक्त समयमा जिससले गोल गरेपछि सिटीले वुल्भ्सलाई ४–१ गोलले पराजित गरेको हो।
यो जितसँगै सिटीले लगातार २१ औं खेलसम्म जित निकालेको छ। लिगको शीर्ष स्थानमा रहेको सिटीले १५ अंकको फराकिलो अग्रतासमेत बनाएको छ। सिटीले २७ खेलबाट ६५ अंक बनाएको छ। लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २६ खेलबाट ५० अंक छ। लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीको २६ खेलबाट ४९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।