काठमाडाैं-
आकाश रोयो, बादल झर्यो, दन्कियो आगो खरानी बनायो
सक्कियो आज, भोलि हरायो, ब्युँझिए पापी बोली हरायो।
गायक, गीतकार तथा संगीतकार बसन्त अर्यालको नयाँ गीतका पंक्ति हुन् यी। उनले एसिड आक्रमणमा परेका पीडित चेलीको मनोव्यथा समेटेर तयार पारेको गीत हो यो।
एक महिना अगाडि युट्युबमा सार्वजनिक गरिएको ‘एसिडको कथा’ गीतको भिडियोमा शनिबारसम्म ३५ सय भ्यूज पनि पुगेको छैन। सुन्दर शब्द, कर्णप्रिय स्वर र संगीत भएका गीतमा यति थोरै दर्शक देखेर अचम्म परेका छैनन् उनी। भन्छन्, 'म भाइरल भएका गायक देखेर गीत गाउन आएको हैन, तीन हजारले मेरो गीत सुन्नु मेरा लागि ठूलो कुरा हो।'
बसन्त, नेपाली भाषालाई निकै माया गर्ने कलाकार हुन्। अहिले भाषामा गरेको छेडखानी उनलाई पटक्कै मन परेको छैन। त्यसैले 'लेमन टी' माग्दा पनि उनि कालो चियामा कागती निचोरेर ल्याउनुस् भन्छन्। कति समयसम्म त वेटरले नबुझेर त्यस्तो चिया छैन बरु 'लेमन टी' बन्छ भन्छन्। यस्ता कुराले हैरान भएका बसन्त भन्छन्, 'केही पुराना नेपाली शब्द गीतमा राख्दा श्रोताले बुझ्दैनन्, यसले हाम्रा गीतसंगीतमा नराम्रो असर गर्छ।'
बसन्त प्रेसमा काम गर्छन्। कागजमा गरिने ग्राफिक्समा व्यस्त रहने उनले, यसबाट बचेको समय संगीतलाई दिन्छन्। 'पेट पाल्ने काम जे होस्, आजका दिनसम्म कलाभन्दा बाहिर गइएको छैन', उनले हाँस्दै भने। उनले आजको दिनसम्म संगीतको औपचारिक शिक्षा लिएका छैनन्। तर, भन्छन्, 'मेरो रगतमा संगीत छ र यो भन्न पाउनु मेरो अधिकारको कुरा हो।'
बसन्तले मामाघरका हजुरबुबा सम्झिए। नेपालमा हार्मोनियम बजाएरै जिन्दगी कटाएका दामोदर काफ्ले, जसको चर्चा खासै चल्न सकेन। मामाघरका हजुरबुबा दामोदरको रगत छ बसन्तमा।
हजुरबुबालाई सम्झिएर निराश बन्दै उनले भने, 'मसँग कुनै ठोस तथ्यांक त छैन तर हाम्रा हजुरबुवा सबैभन्दा धेरै हार्मोनियम बजाउने वादक हुन्। उनि यही वर्ष बिते।
मामाघरका हजुरबुबाकै कारण उनलाई संगीतमा मोह जाग्यो। त्यसैमाथि घरपरिवार पनि भजनर्कितनमा समय बिताउन मन पराउने खालको छ बसन्तको।
उनको जन्म काभ्रे जिल्लामा भयो। तर, जन्मेको दश दिन पनि नपुग्दै उनको परिवार काठमाण्डौं सर्यो। त्यसैले बसन्तको पढाइ, हुर्काइ यतैको वातावरणमा भयो।
आफूलाई संगीतको शिक्षा नलिएको बताएपनि वाद्यवादनमा तबला भने सिकेको बसन्त बताउँछन्। उनले सानैमा अतुल गौतमसँग तबला सिके। गौतम अहिले यो संसारमा छैनन्। सानैमा गौतमसँग तबला सिकेकाले बसन्त औपचारिक गुरु उनैलाई मान्छन्।
गायनको गुरु भने उनी नारायण गोपाललाई मान्छन्। औपचारिक रुपमा कक्षा लिन नसकेपछि उनैका गीत सुनेर आफू गीत रेकर्ड गर्ने दिनसम्म आइपुगेको बसन्तको भनाइ छ।
बसन्तले सात कक्षा पढ्दा नै गीत निकाले। त्यो समयमा अहिलेजस्तो युट्युब थिएन न त सिडीकै जमाना आइसकेको थियो। उनले एल्वममा राष्ट्रिय गीत रेकर्ड गराए। पहिलो गीतको सम्झना अहिले पनि उनीसँग छ। 'समय जतिसुकै परिवर्तन होस्, मसँग एल्बम बज्ने अवस्थामा छ र बजाउने भाँडो क्यासकेट पनि', बसन्तले खुशी हुँदै सुनाए।
पहिलो गीत सात कक्षामा पढ्दा निकालेपनि दोस्रो गीत ‘आमा’ निकाल्न उनलाई स्नातक पढुन्जेल कुर्नुपर्यो। आमा गीतमा परदेशी बनेका छोराको कथा दर्साइएको छ। यसको भिडियो समेत निर्माण गरेर युट्युबमा राखिएको छ।
‘आमा’पछि उनले प्रेमिल गीत निकाले ‘चट्ट पियारी’। यसलाई अन्य गीतको तुलनामा श्रोता दर्शकले बढी मन पराए। त्यसपछि हालै भने उनको चौंथो गीत सार्वजनिक भएको छ। ‘एसिडको कथा’।
यो गीतका शब्द उनैले लेखेका हुन्। भन्छन्, 'गीत भनेको भावना हो, त्यो हाम्रै समाजबाट सिर्जना हुन्छ।' एसिडको कथा उनले वरपरका वातावरण हेरेरै उठाए। गीत बन्नुअघिको क्षण सम्झँदै उनी भन्छन्, 'एकदिन कार्यालयबाट घर फर्कँदै थिएँ। जाममा बाइक रोक्नुपरेको थियो। एकजना दृष्टिविहिन महिला हिँड्दै गएर बिजुलीको पोलमा नराम्रोसँग ठोकिएको देखें। त्यो देखेर साह्रै नमज्जा लाग्यो। यही नराम्रो भावनाले एउटा पंक्ति मनमा आयो,
चरी झैं स्वतन्त्र उड्थें म जहिले
कुदृष्टि अनेकौं, देखिनँ मैले
हाँस्दै थिएँ, खेल्दै थिएँ म
सपना हजारौं बुन्दै थिएँ म
एक्कासी आयो, दियो निभायो
निस्पट्ट कालो अँध्यारो छायो
त्यो समयमा निर्मला पन्तको घटनापछि आन्दोलन पनि चलिरहेको थियो। यी सबै कुराहरु देख्दा समाजमा कोही सुरक्षित छ जस्तो लागेन। बसन्तले भने, 'यो हाम्रो संस्कार र परिपाटी हैन नि।' त्यही समयमा एसिड आक्रमण सम्बन्धी समाचारका शिर्षकहरुले उनलाई अर्को लाइन पनि लेख्न बाध्य गरायो।
भत्भती पोल्यो, अत्तालिएँ म
बिउँझेर हेर्दा भक्कानिएँ म
पलपल डराएँ, मनैमन कराएँ
बदला यो के को, मैले के बिराएँ ?
निस्तेज मन भो, आँखा रसायो
बेदना मेरो, झरी झैं सुसायो
समस्या, विलापले मात्रै गीत अन्त्य असुहाउँदो लाग्यो बसन्तलाई। त्यही भएर जागरणका लागि देवी बनेर जाग्नुपर्ने भनेर अन्तिम लाइन थपे।
लड्नु छ मैले, जित्नु छ मैले
बोकेर लक्ष्य, उठ्नु छ मैले
फुक्नु छ बिगुल, देवी बनेर
हाँक्नु छ क्रान्ति नदी झैं डटेर
निभ्नेछ एकदिन, पापको ज्वालो
सकिन्छन् पापी, उदाउँछ उज्यालो
बसन्तले जोड दिँदै भने, 'हामी हिन्दु सम्प्रदायका हाैं। महिलालाई पूजा गर्ने सम्प्रदाय हिन्दु बाहेक अरु त छैन नि। महिलालाई पूजा गर्ने हामीलाई देवीसँग डर लाग्ला भनेर अन्त्यमा देवी बन्नुपर्ने सन्देश गीतमा समेटें।'
गीतको लिरिकल भिडियो बनाइएको छ। सांकेतिक रुपमा केही विदेशी फुटेज पनि जोडेर बनाइएको लिरिकल भिडियो उनले रहरले बनाएका हैनन्। यो बसन्तको बाध्यता हो।
उनले भने, 'अहिले जमाना डिजिटल भएकाले भिडियोको विकल्प भएन। त्यसैले शब्द मात्रै राखेर भएपनि भिडियो बनाउनैपर्ने बाध्यता छ।'
भिडियो जरुरी छ कि छैन गीतसंगीतका लागि भन्ने प्रश्नमा बसन्तले भने, 'यदि गीतको संगीत र शब्द फितलो छ भने भिडियो आवश्यक छ, नत्र अडियो नै काफी छ।'
एसिडको कथा जस्ता सिरियस गीतले मुस्किलले तीन हजार दर्शक पाउँदा दुइअर्थ लाग्ने शब्द भएका, चटपटे गीतले भने करोड भ्युज पाएको केक काटिरहेका हुन्छन्। यस विषयमा बसन्त भन्छन्, 'नराम्रो गीतलाई तह लगाउने, राम्रो गीतलाई भाइरल गराउने काम त दर्शक श्रोताकै हो।'
उनले थप जोड दिँदै भने, 'नकारात्क कुराले छिटो ठाउँ पाउँछ। यो नेपालमा मात्रै हैन, संसारभर हो। आफूलाई जतिसुकै विद्वान भन्नेले पनि नराम्रा कुराहरु लुकेर हेर्न चाहिरहेका हुन्छन्।'
त्यसो त भविष्यमा बसन्तलाई पनि ‘एसिडको कथा’ जस्ता पीडादायी गीत गाउन मन छैन। अहिलेको परिस्थितिमा सुनाउन भने मन छ।
तर, बल गरेर सुनाउन नमिल्ने भन्दै बसन्त भन्छन्, 'दर्शकलाई जे हेर्न मन लाग्यो त्यही हेर्ने स्वतन्त्रता छ। तर, ढल हेर्ने कि, स्वच्छ कलकल बगेको पानी हेर्न त्यो आफ्नो बिचार हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।