काठमाडौं– एभर्टनले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। सोमबार राति भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १–० गोलअन्तरले हराएको हो। घरेलु टिमको जितमा रिचार्लिसनले गोल गरे। उनकै गोलमा एभर्टनले महत्वपूर्ण तीन अंक जोडेको छ।
खेलको नवौं मिनेटमा गिल्फी सिगुर्डसनको पासमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए। यो रिचार्लिसनको जारी लिगमा ११औं गोल हो। सुरुवाती समयमा नै अग्रता बनाएको एभर्टनले आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो। साउथह्याम्पटनले गोल गर्ने राम्रो अवसर निकालेपनि खेर फाल्दा हारबाट जोगिन सकेन।
जितसँगै एभर्टनले २५ खेलबाट ४३ अंक बनाएको छ। पराजित साउथह्याम्पटनको भने २६ खेलबाट ३० अंक छ। लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २६ खेलबाट ६२ अंक छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भन्दा सिटी १२ अंकले अघि छ।
युनाइटेडको २६ खेलबाट ५० अंक छ। २६ खेलबाट ४९ अंक बनाएको लेस्टर सिटी लिगको तेस्रो स्थानमा रहँदा २६ खेलबाट ४५ अंक बनाएको वेष्ट हाम लिगको चौथो स्थानमा छ। ४४ अंकसहित लिगको पाँचौं स्थानमा चेल्सी रहँदा ४३ अंक जोडेको साविक विजेता लिभरपुल लिगको छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।