काठमाडौं- इंग्लिस प्रिमियर लिगको उपाधिमा म्यानचेस्टर सिटीले अरु क्लबसँग भेटाउन मुस्किल देखिने अन्तर बनाउँदै गइरहेको छ। यसैले बहस शीर्ष चारमा म्यानचेस्टर सिटीसँगै अरु कुन क्लब होला भन्नेमा केन्द्रित देखिन्छ।
अंक तालिकामा शीर्ष स्थानमा रहेर २६ खेल खेलेको म्यानचेस्टर सिटीको ६२ अंक रहेको छ। समान खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५०, लेस्टर सिटीको ४९ र वेस्टहामको ४५ अंक रहेको छ। १२ खेल बाँकी रहँदा शीर्षमा १२ अंककै भिन्नता भइसकेकाले र म्यानचेस्टर सिटी लयमा देखिएकाले प्रतिस्पर्धा शीर्ष चारमा पर्न नै हुने देखिन्छ।
२६ खेलमा ४४ अंकसहित चेल्सी पाँचौं र २६ खेलमा नै ४३ अंकसहित लिभरपुल छैठौँ स्थानमा रहेको छ। आइतबार राति म्यानचेस्टर युनाइटेड र चेल्सीबीचको खेल गोलरहित बराबरी भएसँगै म्यानचेस्टर सिटीको अवस्था अझ बलियो भएको छ। चेल्सी र युनाइटेड दुवै टिमको खेल गोलमा कमजोर बन्दा म्यानचेस्टर सिटी जितको निरन्तरतामा छ।
चेल्सीसँगको खेलले म्यानचेस्टर युनाइटेडका लागि शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दूरी कम गर्ने चुनौती थियो जुन सोचेअनुरुप भएन। चेल्सीका लागि पनि नयाँ प्रशिक्षक थोमस टचेलको प्रभाव देखिने गरी जितमा बढ्ने चुनौती छँदै थियो। शीर्ष ६ भन्दा बाहिर रहेका इभर्टन, टोटनह्याम, एस्टन भिला र आर्सनलका लागि पनि युरोपियन प्रतिस्पर्धामा पुग्ने चुनौती छँदैछ।
गएको सिजन तेस्रो र चौथो स्थानमा रहने टिमको निर्क्योल लिगको अन्तिम दिन अघिसम्म लागेको थिएन। म्यानचेस्टर युनाइटेड तेस्रोमा र चेल्सी चौथोमा रहेर लिग सकाउँदा लेस्टर पाँचौँमा पुगेको थियो। यो वर्ष पनि उसैगरी शीर्षमा पर्ने प्रतिस्पर्धा लिगको अन्तिमसम्म हुने देखिन्छ।
म्यानचेस्टर युनाइटेडका लागि यो सिजन शीर्षका टिमसँगको प्रतिस्पर्धा सुखद हुन सकेको छैन। यो सिजन लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सी र आर्सनलसँग दुई खेल र म्यानचेस्टर सिटी र लिभरपुलसँग एक–एक खेल खेलेको छ। जसमा म्यानचेस्टर युनाइटेडले कुनै पनि खेल जितेको छैन भने एक गोल पनि गर्न सकेको छैन।
यही अवस्थालाई हेर्दा ‘यो युनाइटेड हो’ भन्ने आधारमा विगतको बलियो समय सम्झिएर अनुमान गर्न सकिने आधार छैन। शीर्ष टिमसँगको यस्तो नतिजाले युनाइटेडलाई मुस्किल हुनेछ। त्यसैले आउने खेलमा युनाइटेडका लागि शीर्ष चारको प्रतिस्पर्धाका लागि मात्र होइन म्यानचेस्टर सिटीलाई दबाब दिने भूमिका हुने नै छ। त्यसमा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्सकेयरले पक्कै सोचेकै हुनुपर्छ।
आइतबार राति नै पनि दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा रहेको चेल्सीसँग खेलेको हेर्दा शीर्ष चारको प्रतिस्पर्धामा सबै टिम उस्तै देखिने अनुमान गर्न सकिन्छ। यो नतिजासँगै लेस्टर सिटी र वेस्टहामको हारले शीर्ष चारमा रहने प्रतिस्पर्धामा बढ्न गएको सिजनको विजेता लिभरपुललाई अवसर आएको छ।
गएको सिजनको विजेता टिमका रुपमा यो सिजन लिभरपुलको खेल सोचे अनुरुप हुन सकेको छैन। डिफेन्समा देखिएको समस्याले लिभरपुलाई खेलमा फर्कन कठिन भइरहेको छ। तर, लिभरपुल गएका केही सिजनदेखिको खेल हेर्दा जुनसुकै बेला लयमा फर्कन सक्ने टिम हो। बाँकी खेलमा राम्रो गर्दा शीर्ष चारभित्रको अवसर लिभरपुलका लागि खुला नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।