काठमाडौं- सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। सोमबार सातदोबाटोले श्री भगवती क्लबलाई १–० गोलले पराजित गर्दै आठौं खेलसम्म आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो।
ललितपुरस्थित् एन्फा कम्प्लेक्सको मैदानमा सातदोबाटोका लागि दोर्जे तामाङले गोल गरे। खेलमा लक्ष्मण जिसीले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि सातदोबाटोले पेनाल्टी पाएको थियो। दोर्जेले गोल गर्दै सातदोबाटोलाई जित दिलाए।
यो जितसँगै लिगको शीर्ष स्थानमा रहेको सातबाटोले दोस्रो स्थानमा रहेको खुमालटार युथ क्लबसँग तीन अंकको अग्रता बनाएको छ। सातदोबाटोले आठ खेलमध्ये सातमा जित र एक खेलमा बराबरी खेल्दै २२ अंक बनाएको छ। पराजित श्री भगवतीको भने आठ खेलबाट ६ अंक छ। लिगको दोस्रो स्थानमा रहेको खुमालटारको आठ खेलबाट १९ अंक छ।
आरसिटी विजयी
त्यस्तै, सोमबार नै भएको अर्को खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) ले टुसाल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ। आरसिटीका लागि अजित गुरुङले गोल गरे।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको आरसिटीले दोस्रो हाफमा गोल गरेको हो। खेलको ७३औं मिनेटमा अजितले गोल गर्दै आरसिटीलाई १-० गोलको जित दिलाए।
आरसिटीको लिगमा यो तेस्रो जित हो। आठ खेल खेलेको आरसिटीले तीन खेलमा जित निकाल्दा दुई खेलमा हार र तीन खेलमा बराबरी खेल्दै १२ अंक बनाएको छ।
लिगको उपाधि दाबेदार टिमको रुपमा हेरिएको आरसिटी लिगको पाँचौं स्थानमा छ। त्यस्तै, टुसाल भने लिगको सातौं स्थानमा छ। आठ खेलबाट दुई खेलमा जित र दुई खेलमा नै बराबरी खेलेको टुसालले चार खेलमा हार ब्यहोर्दै आठ अंक बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।