काठमाडाैं- सरकारले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिलकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दुर्गा भगवती गाउँपालिका–३ रौतहटका झालाई केन्द्रको प्रबन्धक नियुक्त गरिएको बताए।
यस्तै, नेपाल न्याय सेवा सरकारी सेवा सरकारी वकिल समूह राजपत्र द्वितीय श्रेणीका अधिकृत कृष्णप्रसाद पुडासैनीसहित पाँचजनाको राजपत्रांकित प्रथम श्रेणीको सहन्यायाधिवक्ताको पदमा बढुवा तथा पदस्थापन गर्ने निर्णय पनि सरकारले गरेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनलाई मल आपूर्ति तथा वितरण संस्थाको रूपमा तोक्ने, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण नियमावली, २०७७ को मस्यौदा स्वीकृत गर्ने, जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयको एकेडेमिक भवन एवं अनुसन्धान केन्द्रका निर्माणका लागि रुपन्देही जिल्लाको देवदह नगरपालिकाको ६१.२५ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र त्यहाँ रहेका १५५३ रूख हटाउन स्वीकृति दिने पनि भएको मन्त्री गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।