काठमाडौं- संयुक्त राष्ट्र संघ अन्तर्गतको शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ विभिन्न देशका युनिटहरुमध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्मड पुलिस युनिट (एफपियु–१) सर्वोत्कृष्ट भएको छ। अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मूल्यांकन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफपियुहरुमध्ये राजधानी जुवामा तैनाथ नेपाल एफपियु–१ लाई सर्वोत्कृष्ट युनिट घोषणा गरेको हो।
उक्त समितिले तयार पारेको कार्य सम्पादन परीक्षण तथा मूल्यांकन प्रतिवेदनमा नेपाल एफपियुले शतप्रतिशत नतिजा प्राप्त गरी हालसम्मकै सर्वोत्कृष्ट भएको हो। कुनै पनि मिसनमा तैनाथ एफपियुहरुबीच विभिन्न विधामा मूल्यांकन गरी उत्कृष्टता छनोट गर्ने कडिको रुपमा लिइने यस मूल्यांकनलाई एफपियुहरुले प्राप्त गर्ने प्राप्ताङ्कका आधारमा उत्कृष्ट छनोट गरिन्छ।
आन्तरिक प्रतिस्पर्धामा समावेश गरिएका आठ विधाहरु, मिसन कार्यादेशको ज्ञान र समर्थन, कमाण्ड एण्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेसनल रेडिनेस र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारी हुन्।
प्रत्येक विधामा अधिकतम चार/चार अंकका दरले ३२ पूर्णाङ्क छुट्याइएको थियो। फेब्रुअरी १८ मा लिइएको उक्त परीक्षण तथा मूल्याङ्कनमा नेपाल एफपियु–१ ले ३२ अंक नै ल्याउन सफल भएको हो।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेले नेतृत्व गरिरहेको उक्त डप्फामा डिपुटी कमाण्डिङ्ग अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक शिवप्रसाद गैह्रे, चिफ लजिष्टिक अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक रामजंग पाण्डे र चिफ अप्रेसन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार शर्मा रहेका छन्।
उक्त एफपियुमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन्। शान्ति प्रक्रिया सातौं डप्फाको रुपमा सन् २०२० को फ्रेबुअरी ९ तारिखमा सुडानमा तैनाथ सशस्त्र प्रहरी बल, नेपालको उक्त टोलीले कोराना कहरको समयमा समेत विचलित नभई आफूलाई प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रुपमा निर्वाह गरेको बताइएको छ।
कमाण्ड स्टाफ र सकल दर्जाका कर्मचारीहरुको अथक मिहिनेतका कारण पनि अन्य एफपियुहरुलाई पछि पार्न सफल भएको कमाण्डिङ्ग अफिसर न्यौपानेले बताए।
हाल दक्षिण सुडानमा रहेका एफपियुहरुमा नेपालको तर्फबाट दुई वटा, रुवन्डाको तीन वटा र घानाको एक गरी जम्मा ६ वटा एफपियुहरु कार्यरत रहेका छन्। शान्ति प्रक्रियामा रहेको यस राष्ट्रमा सन् २०२३ डिसेम्बरमा आम निर्वाचन हुन गइरहेको छ।
यसैक्रममा एफपियुहरुको संख्यामा कटौती गरी इन्डिभिजियल प्रहरीहरुको संख्या बृद्धि गर्ने योजनाको साथ अगाडि बढिरहेको परिप्रेक्ष्यमा यस रिपोर्टलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।