काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई लक्षित गर्दै जनतामा जान डराउनेको भूमिका कस्तो हुन्छ भन्ने हेर्ने बताएका छन्।
ओली पक्षको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै ओलीले प्रचण्ड–माधव पक्षलाई पुनर्स्थापित संसदमा हेर्ने इच्छा भएको बताए।
‘हामी कुनै मुद्दा जितेर आएको पार्टी होइन। मुद्दा जितेर आएको लिडरसिप पनि होइन। मुद्दा जितेर पद प्राप्त गरेको होइन’ ओलीले भने, ‘हामी जनताको अभिमतबाट, जनताको बलबाट देशलाई अगाडि बढाएका छौं। यो सबै जनताको बलमा भएका छन्।’
आफूहरुले देशलाई अलोकतान्त्रिक र जथाभावी जान नदिने सामर्थ्य रहेको ओलीले दाबी गरे। ‘अब राष्ट्रिय राजनीति कता जान्छ ? त्यो हामीले हेर्नुपर्छ। पार्टी अध्यक्षको हैसियतले किञ्चित डराउनु पर्दैन’, ओलीले भने, ‘पार्टी समृद्ध नेपाल सुखी नेपाली गन्तव्यतर्फ दृढताका साथ अघि बढ्छ। लोकतन्त्रको रक्षाका लागि दृढताका साथ अगाडि बढ्छ। संघीय लोकतन्त्रको सफल कार्यन्वयनका लागि अगाडि बढ्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।