काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिको मुख्य डिभाइसहरु तोडफोड गर्ने एक पूर्वकर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
भारतबाट ल्याइएको इन्टरनेट सेवाको लागि प्रयोग हुने मुख्य डिभाइसहरु तोडफोड गरेकाे भन्दै बाराको निजगढमा कार्यरत किरण तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हाे।
उनले क्लासिक टेकको मुख्य इन्टरनेटको कनेक्सन गर्ने पथलैयाको नेपाल विद्युत प्राधिकरणमा राखेको डाटा सेन्टरको तारहरु निकाल्दा बुधबार ५० भन्दा बढि बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा सेवा अवरुद्ध भएको थियाे।
हाल सो काटिएको अप्टिकल फाइबर मर्मत गरेर सेवा संचालन सुचारु भइसकेको क्लासिक टेक मुख्य कार्यालयले जनाएकाे छ।
कम्पनीबाट काम छोडिसकेका पूर्व कर्मचारी तिमल्सिनाले क्लासिक टेकको नेसनल ब्याकबोन नै डाउन गराएका थिए। जसले गर्दा भारतबाट वीरगञ्ज हुँदै आयात गरिएको एयरटेल र सिफीको सम्पूर्ण लिंक डाउन भएको थियो।
यसले मुख्यगरि बैंक तथा वित्तीय संस्थाहरुको सेवा अबरुद्ध हुनुका साथै सरकारी निकायहरुको इन्टरनेट तथा अन्य ग्राहकहरुको सेवामा असर पुगेको बताइएको छ।
कम्पनीकाअनुसार पूर्व कर्मचारी तिमल्सिनाले नेपाल विद्युत प्राधिकरणको कार्यालयमा आफ्नो पुरानो परिचयपत्रमार्फत प्रवेश गरि कम्पनीका उपकरणहरुमा हानी नोक्सानी पुर्याएका थिए।
ती कर्मचारी हाल इलाका प्रहरी कार्यालय सिमरा, बाराको प्रहरी हिरासतमा रहेका छन्। अत्यावश्यक सेवा अन्तरगत पर्ने इन्टरनेट सेवामा अवरोध गर्न कानूनले रोक लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।