काठमाडौं– लिग लिडर एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता बनाएको छ।
आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले भिल्लारियललाई २–० गोलअन्तरले हराएको हो।
एथ्लेटिको मड्रिडको जितमा जोआओ फिलिक्सले गोल गरे। अर्को गोल भने भिल्लारियलका अल्फोन्सो पेद्राजाले आत्मघाति गरेपछि एथ्लेटिको मड्रिडले उपहारस्वरुप पाएको थियो।
खेलको २५ औं मिनेटमा नै पेद्राजाले आत्मघाति गोल गरेपछि एथ्लेटिको मड्रिडले १–० को अग्रता बनायो।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको एथ्लेटिको मड्रिडले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको ६९ औं मिनेटमा फिलिक्सले गोल गर्दै एथ्लेटिको मड्रिडलाई २–० गोलको जित दिलाए।
आइतबार राति नै भएका अन्य खेलमा ग्रानाडाले इल्चेलाई २–१ गोलअन्तरले पराजित गरेको छ।
रियल बेटिसले काडिजलाई १–० ले हराउँदा सेल्टा भिगो र रियल भालाडोलिड भने १–१ गोलको बराबरीमा रोकिएका छन्।
जितसँगै एथ्लेटिको मड्रिडले दोस्रो स्थानमा रहेको बार्सिलोनासँग ५ अंकको अग्रता बनाएको छ। एथ्लेटिको मड्रिडले २४ खेलबाट ५८ अंक बनाएको छ।
पराजित भिल्लारियलको भने २५ खेलबाट ३७ अंक छ। लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाको २५ खेलबाट ५३ अंक हुँदा लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडको २४ खेलबाट ५२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।