काठमाडौं– साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई २–० गोलअन्तरले हराएको हो।
घरेलु टिम शेफिल्डविरुद्ध लिभरपुलका कर्टिस जोन्सले गोल गरे। शेफिल्डले आत्मघाति गोल गरेपछि एक गोल भने लिभरपुलले उपहारस्वरुप पाएको थियो।
पहिलो हाफमा बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो। खेलको ४८ औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई १–० गोलको अग्रता बनाए। ६४ औं मिनेटमा केन ब्रायनले आत्मघाति गोल गरेपछि लिभरपुलले २–० गोलको जित निकाल्यो।
आइतबार राति नै भएको अर्को खेलमा लेस्टर सिटी आर्सनलसँग ३–१ गोलअन्तरले पराजित भएको छ। आफ्नै मैदानमा भएको खेलमा लेस्टरले सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो।
छैटौं स्थानमा रहेको लिभरपुलको जितसँगै २६ खेलबाट ४३ अंक भएको छ। पराजित शेफिल्ड भने लिगको पुछारमा छ। आर्सनलसँग पराजित भएसँगै लेस्टर सिटीले भने लिगमा महत्वपूर्ण तीन अंक गुमाएको छ।
लिगको तेस्रो स्थानमा रहेको लेस्टरको २६ खेलबाट ४९ अंक छ। आर्सनल भने जितसँगै लिगको १० औं स्थानमा उक्लिएको छ। आर्सनलको २६ खेलबाट ३७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।