काठमाडाैं- नेपाली कांग्रेसले डाक्टर शंकरप्रसाद उप्रेतीको निधनमा समवेदना व्यक्त गरेको छ। झापाका पुराना नेता एवं पूर्वसांसद उप्रेतीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत् शोक व्यक्त गरेका हुन्।
उप्रेतीको शनिबार बिहान निधन भएको थियो। २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् कांग्रेसका तर्फबाट उप्रेती ६ वर्षसम्म राष्ट्रिय सभाका सदस्य रहेका थिए। पञ्चायत विरोधी आन्दोलनका क्रममा उप्रेती जेल सामेत परेका थिए।
चिकित्सकका रुपमा उप्रेतीले २०१८ सालमा धनगढीबाट सेवा सुरु गरेका थिए। झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेका उप्रेतीले विगत ५० वर्षको अवधिमा लाखौं जनाको उपचार गरेको कांग्रेसले जनाएकाे छ।
विसं १९९१ सालमा जन्मिएका उप्रेतीको जीवन एक सपना आत्मकथा प्रकाशित छ। उप्रेतीका पुत्र डा सञ्जिव उप्रेती साहित्यकार तथा प्राध्यापक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।