काठमाडाैं– विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका अगुवाहरुले आइतबार काठमाडौं महानगरपालिकामा धर्ना दिएका छन्।
बालाजुमा जनताको घर भत्काएर सूचना केन्द्र निर्माण गर्ने र कमलपोखरीमा ‘कंक्रिटको कमल’को फूल फुलाउने कामको विरोधमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि धर्ना दिइएको हो।
बृहत नागरिक आन्दोलनको अगुवाइमा भएको कार्यक्रममा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।
धर्नामा बसेकाहरुले ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति? कस्तो सरकार?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
विकासको नाममा आफूहरुको उठिबास गराएर प्रतिगमन गर्न खोजिएको आरोप उनीहरुको आरोप छ। यता बालाजु बाइपास सडक विस्तारका नाममा आदीबासीलाई सुकुम्बासी बनाउन नपाइने आन्दोलनकारीले माग राखे।
उनीहरुले सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्नसमेत माग गरे।बालाजुमा अदालतको अन्तरकालीन आदेश उल्लंघन गर्दै जनताको घर भत्काउने कार्य जारी राखिएको छ। त्यसको विरोध गर्ने अभियन्ताहरुलाई प्रहरीले गिरफ्तार गर्ने गरिरहेको छ।
गिरफ्तारमा पर्ने अभियन्ताहरुलाई भेट्न जानेहरुलाई नेपाल भाषामा कुराकानी गर्न नदिइएकोमा समेत केही दिनयता सरोकारवालाहरुले विरोध जनाइरहेका छन्। शुक्रबार मात्रै उनीहरुले माइतीघरमा प्रदर्शन गरेका थिए।
त्यस्तै, कमलपोखरीमा पनि काठमाडौं महानगरपालिकाले कंक्रिटको संरचना बनाइरहेको छ। पोखरीको पानी सुकाएर त्यहाँ बनाउन लगाइएको कंक्रिटको कमलको फूल लगायतका संरचना पनि शुक्रबारै अभियन्ताहरुले भत्काइदिएका थिए।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।