काठमाडौं– बायर्न म्युनिखले बुन्डेसलिगा फुटबलमा फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा बायर्नले एफसी कोनलाई ५–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम बायर्नका लागि रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले समान २–२ गोल गर्दा एरिक म्याक्सिमले एक गोल गरे। कोनका लागि इलिस स्खिरीले एक गोल फर्काए। खेलको १८ औं मिनेटमा म्याक्सिमले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए।
३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि पहिलो हाफसम्म बायर्न २–० गोलको अग्रतामा पुगेको थियो।
खेलको ४९ औं मिनेटमा स्खिरीले कोनका लागि गोल गर्दै २–१ को स्थितिमा ल्याए। तर त्यसपछि बायर्नले तीन गोल थप्यो। लेवान्डोस्कीले ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–१ मा पुर्याए। ८२ र ८६ औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई ५–१ गोलको जित दिलाए।
अर्को खेलमा लाइपजिगले उत्कृष्ट पुनरागमन गर्दै बोरुसिया मोन्चेनग्लादबाखलाई ३–२ गोलअन्तरले हराएको छ।
पहिलो हाफमा नै दुई गोलले पछि परेको लाइपजिगले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल भयो। अर्को खेलमा बोरुसिया डर्टमन्डले अर्मिनियालाई ३–० ले हराएको छ।
शीर्ष स्थानमा रहेको बायर्नले जितसँगै २३ खेलबाट ५२ अंक बनाएको छ। लिगको दोस्रो स्थानमा रहेको लाइपजिगको २३ खेलबाट ५० अंक छ।
पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको लाइपजिगले बायर्नलाई पछ्याई रहेको छ। बायर्न भन्दा लाइपजिग मात्र दुई अंकले पछि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।