काठमाडौं– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले वेष्टहामलाई २–१ गोलअन्तरले हराएको हो।
यो जितसँगै सिटीले लगातार २० औं खेलमा जित निकालेको छ। आफ्नै मैदानमा भएको खेलमा सिटीका लागि रुबेन डियास र जोहन स्टोन्सले गोल गरे। वेष्टहामका लागि मिकेल एन्टोनियोले गोल फर्काए।
खेलको ३० औं मिनेटमा डियासले गोल गर्दै म्यानचेस्टर सिटीलाई १–० को अग्रता दिलाए। तर ४३ औं मिनेटमा एन्टोनियोले गोल गर्दै पहिलो हाफसम्म वेष्टहामलाई १–१ गोलको बराबरी दिलाए।
पहिलो हाफमा लिएको अग्रता सिटीले जोगाउन सकेन। तर दोस्रो हाफमा भने जोहन स्टोन्सको गोलबाट सिटीले २–१ गोलको अग्रता बनायो। बाँकी समयमा वेष्टहामलाई रोक्दै सिटीले जित निकालेको हो।
शनिबार राति नै भएका अन्य खेलमा वेष्ट ब्रुमले ब्राइटनलाई १–० र एस्टोन भिल्लाले लिड्स युनाइटेडलाई १–० गोलअन्तरले पराजित गर्दा न्युक्यासल र वुल्भ्स भने १–१ गोलको बराबरीमा रोकिएका छन्।
जितसँगै म्यानचेस्टर सिटीले लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १३ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानमा रहेको सिटीको २६ खेलबाट ६२ अंक भएको छ।
युनाइटेडको २५ खेलबाट ४९ अंक छ। तेस्रो स्थानमा रहेको लेस्टर सिटीको पनि २५ खेलबाट ४९ अंक नै रहँदा चौथो स्थानको वेष्टहामको २६ खेलबाट ४५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।