काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले जित निकालेको छ। बिहीबार भएको खेलमा आरसिटीले नयाँबस्ती युवा क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आरसिटीले सहज सहज जित निकालेको हो। आरसिटीको जितमा अजित गुरुङले दुई गोल गर्दा सुरेन खवास र विश्व थापाले समान १–१ गोल गरे। नयाँबस्तीका लागि गणेश हमाल र सचु गुरुङले गोल फर्काए।
खेलको छैटौं मिनेटमा नै अजितले गोल गर्दै आरसिटीलाई सुरुवाती अग्रता दिलाए। तर १९ औं मिनेटमा गणेशले गोल गरेसँगै नयाँबस्तीले आरसिटीसँग १–१ गोलको बराबरी बनाएको थियो।
पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको आरसिटीले दोस्रो हाफमा थप तीन गोल गर्दा नयाँबस्तीले भने एक गोल मात्रै थप्न सक्यो। खेलको ५० औं मिनेटमा सचुले गोल गर्दै नयाँबस्तीलाई २–१ गोलको अग्रता दिलाए।
खेलको ६७ औं मिनेटमा सुरेनले गोल गर्दा आरसिटीले २–२ गोलको बराबरी बनायो। त्यसपछि भने विश्व थापाले ८३ औं र ८५ औं मिनेटमा अजितले गोल गर्दै आरसिटीलाई ४–२ गोलको जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।