काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टीको नाम विवाद सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले यही फागुन २० गते फैसला सुनाउने भएको छ। बिहीबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गर्दै सर्वाेच्चले फागुन २० गते निर्णय सुनाउने मिति तोकेको हो।
नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले करिब ३ वर्षअघि सर्वाेच्चमा रिट दायर गरेका थिए। सत्तारूढ नेकपा, पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल र केपी शर्मा ओली गरि दुई समूहमा विभाजन भइरहेको समयमा नाम विवादको मुद्दामा सर्वाेच्चले फैसला सुनाउने भएको हो।
२०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै कट्टेलले मुद्दा दायर गरेका थिए।
सर्वोच्चले अब २० गते नेकपा नाम कसको हुने भन्ने फैसला गर्नेछ। सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा तत्कालीन एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुने छ।
सर्वोच्चले हालसम्म सबै विपक्षीलाई अदालतमा उपस्थित भई लिखित जवाफ पेश गर्न भनेकाले सबैले लिखित जवाफ पेश गरेका थिए। यसअघि न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको थियो।
सर्वोच्चले नेकपा नाम सत्तारूढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा सर्वोच्चमा पेश गर्न भनेको थियो। एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वोच्चले जवाफ माग गरेको थियो।
कट्टेलले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल कम्युनिस्ट पार्टीको नाम जुधेको भन्दै उनले आयोगमा उजुरी दिएका थिए।
आयोगले साेही वर्षको कात्तिक ९ गते सत्तारूढ नेकपाको पक्षमा फैसला सुनाएको थियो। आयोगका सदस्यहरूको इजलासले गरेको उक्त फैसलालाई चुनौती दिँदै कट्टेल सर्वोच्च पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।