पोखरा– जेठ १८ गते हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ मा मनोनयन परेका खेलाडीको नाम आज सार्वजनिक भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरेको हो ।
अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुनमगर (आर्चरी) मनोनयनमा परेका छन्। त्यसैगरी सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ विमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आलेमगर (आर्चरी) मनोनयमा परेका छन्। उत्कृष्ट वर्ष पुरुष खेलाडीलाई टिभिएस अपाचे मोटरसाइकल, उत्कृष्ट वर्ष महिला खेलाडीलाई टिभिएस विगो स्कुटर प्रदान गरिने छ ।
वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथलेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) र मेगबहादुर सेन (क्रिकेट) मनोनयनमा परेका छन्। यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षक विधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । यी दुइ विधामा अवार्ड प्राप्त गर्नेलाई नगद १५ हजार, ट्रफी र दोसल्ला प्रदान गरिने मञ्चले जनाएको छ ।
मञ्चले यस वर्ष सर्वोत्कृष्ट उत्कृष्ट खेल संघ विधामा कास्की जिल्ला ब्याडमिन्टन संघलाई पुरस्कृत गर्ने घोषणा गरेको छ अवार्ड वितरण समारोहमा संघलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिनेछ।
यस वर्षदेखि खेल पर्यटन पत्रकारिता पुरस्कारको बिधा पनि थपेको छ। कास्कीमा रही कम्तिमा ५ वर्ष खेलकुदलाई पर्यटनसँग जोडेर कलम चलाउँदै आएका एक जना पत्रकारलाई हरेक वर्ष नगद १५ हजारसहित दोषल्ला र ताम्रपत्रले पुरस्कृत गर्ने उद्धेश्यले यस वर्षदेखी यो विधा थपेको मञ्च कास्कीका सचिव रञ्जन अधिकारीले जनाए । सो अवसरमा खेलसम्बन्धी गीत गाएर योगदान दिएको भन्दै गायक विनोद बानियाँलाईसमेत सम्मान गरिने भएको छ ।
खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रा.डा. वीरेन्द्रसिंह गुरुङलाई सम्मान गर्ने भएको छ। प्रा.डा. वीरेन्द्रसिंह गुरुङ पोखरामा हक्की खेल भित्र्याउने व्यक्तिका रुपमा चिनिन्छ । उनले लनटेनिससँगै क्रिकेट खेलको विकास र पूर्वाधार निर्माणमा उनको महत्वपूर्ण योगदान पुर्याएकाले सम्मान गर्न लिागिएको मञ्चले बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।