काठमाडौं- सहिद स्मारक बी डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले टुसाल युथ क्लबलाई ३–१ ले हराएको छ। गएको वर्ष चैतमा कोरोनाका कारण रोकिएको लिग मंगलबारदेखि सुरु भएको हो।
एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा बाँसबारीका लागि पाँचौँ मिनेटमा नै भिष्मराज घिमिरेले गोल गर्दै अग्रता दिलाएका थिए।
३४औँ मिनेटमा उनैले टिमका लागि दोस्रो गोल गरे। तेस्रो गोल खेलको ५४औँ मिनेटमा अनिल गुरुङले गरे। टुसालका लागि एक गोल खेलको ७०औँ मिनेटमा सुनिल धामीले गरे।
लिगमा मंगलबार भएको खेलमा नयाँ बस्ती युथले मध्यपुर युथलाई २–१ ले साथै खुमलटार युथ क्लबले पुल्चोक स्पोट्स क्लबलाई ५–२ ले हराएका थिए।
बी डिभिजन लिगमा १२ क्लब छन्। जसमा ब्वाइज युनियन, श्री भगवती, टुसाल, खुमलटार युथ, नयाँबस्ती युवा, झम्सिखेल युथ, रानी पोखरी कर्नर टिम (आरसिटी), सातदोबाटो युथ, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्ट्स, बाँसबारी र श्री कुमारी क्लब रहेका छन्।
अहिले बी डिभिजन लिगको विजेता टिम मात्रै ए डिभिजनमा उक्लने नियममा एन्फाले खेल खेलाइरहेको छ।
ए डिभिजन लिगबाट एक क्लब मात्र रेलिगेसन गर्ने र बी डिभिजनबाट एक क्लब मात्र माथि जाने नियम एन्फाले बनाएको हो। ए डिभिजनबाट सरस्वती युथ क्लब मात्र रेलिगेसनमा परेको थियो।
लिगमा सातदोबाटो युथ क्लब ६ खेलबाट १६ अंक साथै खुमलटार युथ क्लबको समान ६ खेलमा १६ अंक नै रहेको छ।
बाँसबारीको १४ अंक, नयाँबस्तीको ११ साथै ब्वाइज युनियन र टुसालको समान ८ अंक रहेको छ। लिगमा आरसिटी र झम्सीखेलको समान ६–६, श्री भगवती ५, श्री कुमारी ३, पुल्चोक १ र मध्यपुर युथको १ अंक छ।
गएको वर्ष कुनै पनि क्लबको रेलिगेसन पनि नहुने र माथिल्लो डिभिजनमा पनि नपुग्ने नियममा गरिएको लिगमा बाँसबारी र नयाँबस्ती पुछारमा रहेकाले अहिले १–१ अंक घटाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।