राष्ट्रकवि माधव घिमिरेसँग प्रत्यक्ष भेटेर गफिने कसैलाई सय वर्ष पुग्न लागेका मान्छेजस्तो लाग्दैन । अर्थात्, उमेरको तुलनामा हठ्ठाकठ्ठा छन्, स्वस्थ छन् र भेट्न पुगेका मानिससँग हँसिलो पाराले तगडासँग बोल्छन् । मधुमेह र उच्च रक्तचापको समस्या भए पनि औषधिले नियन्त्रण गरेका छन् । उनलाई अरु गम्भीर खालका समस्या छैनन् ।
असोज ७ गते उनी ९९ वर्षमा पुगेका छन्। राष्ट्रकवि घिमिरेलाई भेट्नेले सोध्ने पहिलो प्रश्न हो– कसरी यसरी स्वस्थ हुनुभो ? नेपाल लाइभसँग उनले रहस्य खोले– ‘स्वस्थ हुनु छ भने बेस्सरी खेल, बेस्सरी खाऊ र बेस्सरी सुत ।’ राष्ट्रकवि घिमिरेको अनुभव उनको आफ्नै बोलीमा ।
स्वास्थ्य र प्रकृतिको सम्बन्ध
पहिले जमानामा स्वास्थ्य चेतना केही थिएन । दौडियो, उफ्रियो, खायो, खेल्यो, सुत्यो । स्वास्थ्य चेतना नहुँदा एउटा अवस्था हुन्छ, जहाँ प्रकृतिले काम गरिरहेको हुन्छ । जानेर–नजानेर, प्रकृतिसँगको सम्बन्धले स्वास्थ्यमा अनुकूल प्रभाव पारिरहेको हुन्छ ।
त्यतिखेर गाउँमा स्वास्थ्य चौकी थिएनन् । मेरो घर पुस्तुन –लमजुङ) देखि १०–१२ किलोमिटर तल आयुर्वेदको संस्थामा कविराज बस्थे । उनी हर्रो, बर्रो, अमलाजस्ता जडिबुटी कुटेर बिरामीलाई औषधि दिन्थे । अरुले औषधि खाँदा मलाई पनि खान मन लाग्थ्यो, चिनीको लोभले । तिनताका ब्राम्ही (घोडताप्रे) खायो भने बुद्धि सप्रन्छ भनिन्थ्यो । तर, त्यसलाई कसरी शुद्ध गरेर खाने, कति खाने, केही थाहा हुन्थेन । टिपेर ल्याएपछि त्यत्तिकै माडेर खाइन्थ्यो । कपाल दुख्यो, ज्वरो आयो भने कुनै वनस्पतिको जरो कुटेर खाइन्थ्यो । त्यसको भोलिपल्टै ज्वरो निको भइहाल्थ्यो । ठूलो रोग लाग्दैनथ्यो, लागिहाल्यो भने मान्छे मरिहाल्थ्यो ।
त्यतिबेला अहिलेको जस्तो सुत्ने, खानेजस्ता कुरामा कुनै नियमितता थिएन । थकाइ लाग्यो भने सुत्ने, थकाइ म¥यो भने उठ्ने । कुनै बनिबनाउ नियम थिएन । सहरमा आइसकेपछि यान्त्रिक चेतनामा मात्र बाँधिनुप¥यो । यहाँ गाउँको जस्तो प्राकृतिक चेतना छैन ।
मलाई लागेका रोग
१२, १३ वर्षको उमेर लमजुङ, दुराडाँडामा इष्टमित्रकहाँ बसेर पढिरहेको थिएँ । मलाई मलेरिया लाग्यो । बुबा लिन भनेर आउनुभयो । घरमा ल्याएपछि औषधि खुवाउनुभयो । एकुन्द्रो ज्वरो भनिन्थ्यो त्यतिबेला । एक दिन बिराई आउने । ज्वरोले छाडेपछि पसिना आउँथ्यो । पसिनाले छाडेपछि बिछट्टै भोक लाग्थ्यो । अनि, हजुरआमाले मिठो–मिठो चिज बनाएर खुवाउनुहुन्थ्यो । त्यो ज्वरो केही समयपछि निको भयो ।
बिरामी भएको अर्को प्रसंग भनेको संस्कृत छात्राबासमा बस्दाको हो । १७, १८ वर्षको हुँदा फेरि मलेरियाले समात्यो । सम्भवतः पहिले गडेको मलेरिया फेरि निस्किएको थियो । एकजना कविराज (वर्तमान मन्त्री नरहरि आचार्यका पिता) आएर तितो खालको औषधि दिएर भने, ‘ल बाबु यो औषधि खानु, चार दिनमै निको हुन्छ ।’ नभन्दै चार दिनमै निको भयो । तगडा भएर हिड्न थालिहालें । अहिलेको औषधिजस्तो पटक–पटक थपिरहनुपर्ने औषधि थिएनन् त्यसबेला । खाएपछि निको हुन्थे ।
पढ्न थालेपछि खाना नपुगेर हो कि बिँडी–चुरोटले हो, अनिद्राको समस्या आयो मलाई । घन्टाघरले १२ हानिसक्दा पनि निद्रै लाग्दैनथ्यो । त्यहीबेला बेलायतका राजदूत सिंहबहादुर बस्नेतले बोलाए र म बेलायत गएँ । अमेरिकामा रहेकी छोरीले पनि बोलाइन्, उता पनि गएँ । अमेरिकामा झन् अचम्म भयो । रातभर निद्रा लाग्दैनथ्यो । मलाई त्यतिबेला केसम्म लाग्थ्यो भने– मान्छे पागल भएर हामफाल्ने यस्तै बेला हो । अचम्म अनुभूति हुन्थ्यो त्यतिबेला ।
हेर्दा तन्दुरुस्त थिएँ । कार्यक्रममा बोलाउँदा जान्थें । तर, मलाई रातभरि निद्रै लाग्दैनथ्यो । एकपटक छोरीज्वाइँले तपोवन लगे र पानी देखाएर भने, ‘हेर्नुस् बुबा पानी कसरी बगेको छ ।’ म कवि हृदय भएको मान्छे, पानी देखेर मन बहलाउँछ भनेर उनीहरूले त्यसो भने होलान् । जिन्दगी नै खत्तम हुन्छ कि जस्तो लाग्न थाल्यो । बहुलाहा हुनबाट जोगाउने स्थिति आइरहेको थियो । अनिद्राको औषधिको खोजीमा लागें तर कुनै औषधिले पनि छोइरहेको थिएन ।
लमजुङकै दुराडाँडाकी महिला बस्थिन् नजिकै । एक दिन उनी मकहाँ आइन् । मैले आफ्ना समस्या बताएँ । उनकै सल्लाहमा सिंहदरबार वैद्यखाना पुगें । त्यहाँका कर्मचारीले ‘प्रवालतृष्टि’ नाम गरेको धूलो गाईको दूधसँग खानुस् भनेर २५–३० मात्रा दिए । औषधि खोज्न कहाँ–कहाँ मात्र चहारिएन, त्यो मामुली औषधिले निको भयो ।
पहिले मधुमेह थियो । औषधिले नियन्त्रणमा आएको छ । दुई–तीन महिनामा जचाउँछु । प्रेसर पनि नियन्त्रणमा छ । बिहान चिया खाएपछि प्रेसरको औषधि पनि खान्छु । त्यत्ति हो, अरु कुनै स्वास्थ्य समस्या छैन ।
यसरी सतर्क भएँ
अहिले मेरो स्वास्थ्यप्रतिको चाहना भनेको नै पहिलेजस्तो अनिद्राको समस्या नहोस् भन्ने छ । म अचेल जसरी हुन्छ दिनको आठ घन्टा सुत्छु । राति निद्रा पनि राम्ररी पर्छ । राती साढे १० र ११ बजेको बीचमा सुत्छु र बिहान साढे छ र सातको बीचमा उठ्छु । दिउँसो आधा घन्टा सुते पुग्छ मलाई । पहिले नगरे पनि आजकल स्वास्थ्यको बडो ख्याल गर्छु । एक दिन म बिराटनगर गएको थिएँ । त्यहाँ ज्वाइँ बस्नुहुन्छ । उहाँ बस्ने घरअगाडिको चौरमा एकछिन डुलें । त्यहाँका मानिसले बडो राम्रो बानी रहेछ भनेपछि बिहान–बिहान डुल्न थालें ।
एकदिन भोटाहिटीको रत्नपुस्तक भण्डारमा जाँदा एउटा पुस्तक देखें– ‘५० सालके बाद ।’ आफू पनि ५० वर्ष काटिसकेको हुनाले के रहेछ भनेर किनें । त्यसमा खाने, हिँड्ने, सुत्नेजस्ता नियम लेखिएको रहेछ । त्यतिखेर ६० वर्षमाथिको थिएँ । त्यसपछि पुस्तकमा लेखिएका नियम पालना गर्न थालें ।
अचेल म बिहान आधा घन्टा जति हिँड्छु । कहिले एकदम फटाफट हिँड्छु भने कहिले उफ्रिएर । बिहान, दिउँसो हिँड्न पाइनँ भने बेलुकी कसैले नदेख्ने गरी घरमै उफ्रन्छु । पहिले नियमित आसन र प्राणायाम गर्थें । अहिले अलिक कम भएको छ । यसरी कसरत गर्दा बेलुकी निद्रा बोलाउनु पर्दैन, आफैं आउँछ । तर, कसरत गरिएन भने निद्रा आउन केहीबेर लाग्छ ।
मेरो खाना
प्रज्ञा प्रतिष्ठानमा उपकूलपति छँदा त्यहाँबाट निस्केर कृष्ण पाउरोटीनेरको पान पसलमा गएर पान र चुरोट खान्थें । तर, त्यसले मेरो गला बिग्रियो । त्यसपछि ती दुवै चिज खाएको छैन, त्यसमा सतर्क छु । खानामा सामान्य दालभात, तरकारी खान्छु । बूढो भएपछि खाना कम खान्छु । तर, अरुले हेर्दा मेरो उमेरअनुसारभन्दा धेरै नै खान्छु । दूधचाहिँ बिहान र बेलुकी दुवै समयमा चाहिन्छ । सानो उमेरमा पनि दूध र भात खाएरै हुर्केको हुँ । विभिन्न समारोहमा बोलाउँछन् । त्यहाँ अनेक किमिसका खाना हुन्छन्, त्योचाहिँ मन पर्दैन । गुलियो खान्नँ । पानी भने म त्यति पिउँदिनँ ।
...अनि निकै खुसी भएँ
एकपटक एकजना डाक्टरले कुनै रोगको शंका गरेर औषधि दिएका थिए । नचाहिँदो औषधि परेछ क्यारे, एलर्जी भयो । पिलो आयो । अन्जनीकुमार (डा. अञ्जनीकुमार शर्मा) कहाँ गएको थिएँ, उनले अप्रेसन गर्नुपर्छ भनेपछि अस्पताल गएँ । त्यहाँ अर्का एकजना डाक्टरले त पहिले शंका गरेको रोग त छँदैछैन भनेपछि म निकै खुसी भएँ । पहिलेको डाक्टरले दिएको औषधि कम गर्दै लगेर बन्द गरिदिएँ । त्यसपछि आजभोलि नजान्ने औषधिले मान्छे खत्तम हुन्छजस्तो लाग्छ ।
तीन मन्त्र
युवा पुस्तालाई मेरो सुझाव– तन्दुरुस्त हुन प्रकृतिले जे भन्छ त्यही गर्नुपर्छ । बिहान सानोतिनो आसन÷प्राणायाम गर्नुपर्छ । खेलकुद गर्ने, मज्जासँग खाने, प्याकिङ खाना सकभर नखाने र सागसब्जीमा जोड दिने । निद्रा पुर्याएर सुत्ने । मेरो मन्त्र हो– बेसरी खेल, बेसरी खाऊ र बेसरी सुत (बेसरी पढ पनि) । सम्भव हुन्छ भने विद्यार्थीहरूलाई पिटीभन्दा आसन गर्न लगाउनुपर्छ । शरीर फुलाउने कसरतले पछि असर गर्छ । त्यो अप्राकृतिक हो । बच्चालाई पनि योगा सिकाउनुपर्छ । राम्रो निर्देशन दिएर बच्चाहरूलाई योगा गर्न लगाउने हो भने त्यो निकै लाभदायी हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।