काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले जित निकालेका छन्। आइतबार राति भएको खेलमा युनाइटेडले न्युक्यासल र लेस्टरले एस्टन भिल्लालाई पराजित गरेका हुन्।
म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई ३–१ गोलअन्तरले पराजित गर्दा मार्कस राष्फोर्ड, ड्यानियल जेम्स र ब्रुनो फर्नान्डेजले गोल गरे। न्युक्यासलका एलान सेन्ट म्याक्सिमिनले गोल फर्काए। खेलको ३० औं मिनेटमा राष्फोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए। तर, यो अग्रता धेरै बेर टिकेन। त्यसको ६ मिनेटपछि नै म्याक्सिमिनले गोल गर्दै न्युक्यासललाई १–१ गोलको बराबरी दिलाए।
दोस्रो हाफमा युनाइटेडले दुई गोल थप्यो। ५७ औं मिनेटमा ड्यानियल र ७५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई ३–१ गोलको जित दिलाए।
यता, लेस्टरले एस्टन भिल्लालाई २–१ ले पराजित गर्ने क्रममा जेम्स म्याडिसन र हार्भे बर्नेसले गोल गरे। एस्टन भिल्लाका बेरट्रान्ड ट्राओरले गोल गरे। खेलको १९ औं मिनेटमा जेम्स म्याडिसन र २३ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाए। ४८ औं मिनेटमा ट्राओरले गोल गर्दै एस्टनलाई २–१ को स्थितिमा ल्याए। तर खेल लेस्टरले जित्यो।
जितसँगै म्यानचेस्टर युनाइटेडले केही घण्टा लिगको दोस्रो स्थानमा रहेको लेस्टरलाई पछि पारेको छ। २५ खेलबाट ४९ अंक बनाउँदै म्यानचेस्टर युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ। २५ नै खेलबाट समान अंक बनाएको लेस्टर लिगको तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।