काठमाडौं–म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई १–० गोलअन्तरले पराजित गरेको हो।
शीर्ष स्थानको सिटीका लागि रहिम स्टर्लिङले गोल गरे। घरेलु टिम आर्सनल भने सुरुवात मै दबाबमा आउँदै महत्त्वपूर्ण तीन अंक सिटीलाई सुम्पिएको हो। खेलको दोस्रो मिनेटमा नै सिटीका लागि रियाड महरेजको पासमा स्टर्लिङले गोल गर्दै अग्रता दिलाए।
खेलको सुरुवातमै अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो। प्रिमियर लिगमै भएको अर्को खेलमा भने वेष्टहामले टोटेनहमलाई हराएको छ। घरेलु टिम वेष्टहामले टोटेनहमलाई २–१ गोलअन्तरले पराजित गरेको हो। दुई गोलले पछि परेको टोटेनहमले ६४औं मिनेटमा गोल गर्दै २–१ को स्थितिमा आएपनि वेष्टहामलाई रोक्न सकेन।
शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले जितसँगै २५ खेलबाट ५९ अंक बनाएको छ। पराजित आसर्नलको २५ खेलबाट ३४ अंक छ। टोटेनहमलाई हराउँदै वेष्टहाम भने लिगको चौथो स्थानमा उक्लिएको छ। वेष्टहामको २५ खेलबाट ४५ अंक छ। पराजित टोटेनहमको २४ खेलबाट ३६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।