काठमाडौं- स्पेनिस ला लिगामा यो सिजन एथ्लेटिको मड्रिडले रियल मड्रिड र बार्सिलोनालाई पछि पारिरहेको छ। सेल्टा भिगोसँगको बराबरी, लेभान्टेसँगको एक खेल बराबरी र एक हारअघि राम्रो अग्रतामा रहेको एथ्लेटिको मड्रिड अहिले केही धरमराएको देखिन्छ। तर उपाधि यात्राको बलियो छबि बिग्रिएको छैन।
यसपटक एथ्लेटिकोको जितमा बार्सिलोनाबाट गएका स्ट्राइकर लुइस स्वारेज गोलमा बढिरहेका देखिन्छन्। शीर्ष स्थानको एथ्लेटिकोमा स्वारेजको १६ गोलको महत्व ठूलो छ। त्यहीँ टिमका लागि खेल बनाउने भूमिका बढिरहेका युवा खेलाडी छन्, जुआओ फेलिक्स। २० खेलमा ६ गोल गरेका फेलिक्सले ५ असिस्ट गरेका छन्।
गएको सिजन फेलिक्सले एथ्लेटिको मड्रिडमा ३६ खेलमा ९ गोल र ३ असिस्ट गरेका थिए। यो सिजन लिगमा शनिबार लेभान्टेसँगको खेलअघि उनी केही समय कोभिडका कारण मैदानबाहिर थिए। विश्रामपछि फर्किएको खेलमा लेभान्टेसँग २–० ले हारेर सुखद नभए पनि फेलिक्सका रुपमा एथ्लेटिकोले पाइरहेको स्टार खेलाडीको छबि हरेक खेलमा बलियो बनिरहेको छ।
क्रस्टियानो रोनाल्डो पछिको पुस्ताका उत्कृष्ट पोर्चुगिज खेलाडीका रुपमा चर्चा हुँदै आएका युवा खेलाडी फेलिक्सलाई पोर्चुगिज क्लब बेन्फिकाबाट एथ्लेटिको मड्रिडले कीर्तिमानी मूल्यमा अनुबन्धित गरेको हो। फेलिक्सलाई एथ्लेटिको मड्रिडले खर्च गरेको १ सय १३ मिलियन पाउण्ड सहि थियो भन्ने उनको खेलले देखाइरहेको छ। बेन्फिकाले उनका लागि १ सय २० मिलियन युरो रिलिज क्लज राखेकोमा एथ्लेटिको मड्रिडले त्यो भन्दा ६ मिलियन युरो बढी तिर्नुले नै उनको क्षमता देखिएको हो।
२१ वर्षका फेलिक्स विश्व फुटबलको इतिहासमा महँगा खेलाडीको रुपमा जसरी अघि आए मैदानमा देखाएको खेलले उत्कृष्टकै बाटोमा उसैगरी छन्।
सन् २००७ मा पेस्टिनहस क्लबबाट फुटबल सुरु गरेका फेलिक्स २००८ मा पोर्टोको युवा टिममा आबद्ध भएका थिए। त्यहीँ नै उनी २०१४ सम्म रहे। तर शरीर साह्रै पातलो भएको भन्दै फेलिक्सलाई पोर्टोले क्लबको अनुबन्धबाट छाडिदिएको थियो। त्यसपछि उनी एक वर्ष पोर्चुगलकै क्लब पाड्रोइन्सेमा रहे।
सन् २०१५ मा बेनफिका गएपछि फेलिक्सको फुटबल कला अझै निखारिएको थियो। उनले बेनफिकाबाटै २०१८ को सिजनमा मात्रै सिनियर टिममा डेब्यू गरेका थिए। २०१९ मा एथ्लेटिको मड्रिड आउनु अघि बेन्फिकालाई लिग जिताउँदा फेलिक्सले १५ गोल गर्नुका साथै ९ गोलका लागि अवसर बनाएका थिए।
फेलिक्सले २०१८ मा युरोपा लिग अन्तर्गत फ्र्यांकफर्टसँगको खेलमा ह्याट्रिक गर्दा धेरैको नजरमा परेका थिए। त्यसले उनलाई सबै भन्दा कम उमेरमा युरोपियन प्रतिस्पर्धामा ह्याट्रिक गर्ने बेनफिका र पोर्चुगलको पहिलो खेलाडी बनाएको थियो। यस्तै उनी युरोपा लिगमा ह्याट्रिक गर्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी पनि बनेका थिए। जसले उनी एथ्लेटिकोमा मैदानको बाटो बनाउन सफल रहे।
फेलिक्सले पोर्चुगल राष्ट्रिय टिमबाट २०१९ मा नेसन्स लिग फुटबल अन्तर्गत स्वीट्जरल्याण्डसँगको सेमिफाइनलमा डेब्यु गरेका थिए। पोर्चुगलबाट उनले यु १९, यु २० र यु २१ टिमबाट पनि खेलिसकेका छन्। त्यसबेला उनले नेशन्स लिगमा डेब्यू गरेपछि नै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले पनि भित्र्याउने इच्छा देखाइरहेको थियो।
सानो उमेरमै राम्रो खेल देखाइरहेका फेलिक्सको तुलना पोर्चुगलमा स्टार खेलाडी क्रस्टियानो रोनाल्डो र म्यानचेस्टर सिटीमा रहेका बर्नार्डो सिल्भासँग हुन्छ। उनको तुलना फुटबल पण्डितहरु पनि ब्राजिलियन स्टार खेलाडी काकासँग गरिरहेका हुन्छन्।
फेलिक्सको उमेरमा रोनाल्डोले विश्व फुटबलका स्टार खेलाडी बन्ने बाटोमा आफूलाई देखाइसकेका थिए। म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई जसरी अवसर दिएको थियो, ठिक त्यस्तै अवसर फेलिक्सले एथ्लेटिको मड्रिडमा पाइरहेका छन्।
‘अहिलेदेखि नै उनको खेलको तुलना काकाँसग भइरहेको छ। तर फेलिक्सको तुलना कसैसँग गर्न आवश्यक छैन। फेलिक्स मात्र फेलिक्स हुन्। उनलाई फुटबलको समझ असाध्यै राम्रो छ। गोलमा कसरी अगाडि बढ्ने भन्ने उनको शैली गजवको लाग्छ’ फेलिक्सको तारिफ गर्दै बेनफिका र पोर्चुगलका पूर्व फरवार्ड रुइ कोस्टाले भनेका छन्।
स्वान्सेका पूर्व प्रशिक्षक कार्लोस कार्भाहल भने फेलिक्सको शैली काकासँग मिल्दोजुल्दो भएकाले तुलना गरिएको बताउँछन्। ‘उनले बल बढाउने तरिका, खेलमा जोडिने शैली र गोल गर्ने तरिका काकासँग मिल्दो छ। उनी राम्रो हेडिङ गर्न सक्छन्। शारीरिक बलका आधारमा नभई उनी शैलीका आधारमा खेल्छन्’ कार्भाहलले भनेका छन्।
पोर्चुगल र एथ्लेटिको मड्रिडका फुटबल समर्थक माझ मात्रै होइन विश्व फुटबलमा नै फेलिक्सले आफ्नो नाम बढाइरहेका छन्। रोनाल्डोले जस्तै पोर्चुगिज फुटबललाई अगाडि बढाउने काम फेलिक्सले गर्ने विश्वासमा पोर्चुगिजहरु देखिन्छन्। फेलिक्सकै इच्छा पनि विश्व फुटबलमा सबैभन्दा ठूलो व्यक्तिगत अवार्ड मानिने बालोन डिओर जित्ने रहेको छ।
फुटबलमा सबैभन्दा महत्वपूर्ण विषय फेलिक्स उत्कृष्ट गोलस्कोरर बन्दै छन्। गोलका लागि अवसर बनाउने र पेनाल्टी बक्समा भएको बललाई कसरी जालि चुमाउने भन्नेमा फेलिक्स विश्वस्त देखिन्छन्। बेनफिकामा रहँदा हरिस सेफेरोभिकसँगै फरवार्ड लाइन सम्हाल्दादेखि नै फेलिक्सले त्यो क्षमता देखाएका हुन्।
फेलिक्स प्राय मैदानको दाहिनेतर्फबाट अगाडि बढ्छन् र फरक क्षेत्रहरुमा देखिएका हुन्छन्। डिफेन्सका लागि उनलाई पछ्याउन मुस्किल नै हुन्छ। मिडफिल्डसम्म पुग्ने र अगाडिको बलमा डिफेन्स लाइन कटेर अगाडि बढ्ने उनको शैली राम्रो देखिन्छ। बल बढाइरहँदा आफ्नो क्षेत्र कुन हुने र बल आफूसँग नरहँदा पनि कहाँ बस्ने भन्ने फेलिक्समा राम्रो ज्ञान छ।
बल बढाउँदा पनि फेलिक्स प्राय डिफेन्सको बीचबाट बढ्छन् र बल पास लिने समयमा पनि उनी खुला स्थानमा नै देखिन्छन्। उनी प्राय बल हान्दा दाहिने खुट्टाको प्रयोग गर्छन्। सबै कुरालाई विचार गर्दा एथ्लेटिको मड्रिडबाट एन्टोनियो ग्रिजम्यान बार्सिलोना गएपछि मड्रिडमा हुने कमि पूरा गर्न फेलिक्स सक्षम देखिएका छन्।
विश्व फुटबलमा पछिसम्म रहने स्टारका रुपमा फेलिक्स देखिइसकेका छन्। मैदानमा देखिने खेलले मात्रै होइन, मैदानबाहिरको उनको स्वभाव पनि राम्रो रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्। अहिले ला लिगामा फरवार्ड लाइनका उत्कृष्ट खेलाडीसँग बढिरहेका फेलिक्स एक समयका क्रस्टियानो रोनाल्डो र अहिलेसम्म रहेका लियोनल मेस्सी जस्तो स्पेनिस लिग चम्काउन सक्ने पात्रका रुपमा हेरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।