काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले स्ट्राइकर करिम बेन्जेमा पूर्ण स्वस्थ नभएमा उनलाई खेलाउन हतार नगर्ने बताएका छन्। ला लिगामा शनिबार राति भायाडोलिडविरुद्ध बेन्जेमाबिना खेलेको मड्रिडले बुधबार च्याम्पियन्स लिग खेलमा पनि उनलाई खेलाउने सम्भावना कम देखिन्छ।
लिगमा भायाडोलिडविरुद्धको खेलमा ६५औं मिनेटमा रियल मड्रिडका लागि क्यासेमिरोले गोल गरेका थिए। जितसँगै शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक दूरी कम भएको खेलमा मड्रिडलाई गोलमा बढ्न मुस्किल देखिएको थियो। मड्रिडले गरेका १० प्रहारमा २ सट मात्रै पोस्टको दिशामा गएको थियो। जहाँ भायाडोलिडले ९ प्रहार गर्दै ५ प्रहार पोस्टमा हानेको थियो।
यसैले च्याम्पियन्स लिग खेलमा बेन्जेमाबिना मुस्किल हुनसक्ने अनुमान भइरहँदा प्रशिक्षक जिदानले उनलाई खेलाउन हतार नगर्ने बताए। ‘हामी उनको अवस्थामा विचार गर्नेछौँ, हतार गरेर बढ्ने पक्षमा छैनौँ। अवस्था जस्तो छ यस्तै नै हो, धेरै खेलाडी चोटमा छन्’ उनले भने।
बेन्जेमा मात्रै होइन जिदानको टिममा अहिले पहिलो टिममा रहने नौ खेलाडी चोटमा नै छन्। यसैले भायाडोलिडविरुद्धको खेलमा राखिएका अतिरिक्त खेलाडीमा परिचित अनुहार इस्को मात्र थिए। ‘खेलाडीको कमि हुँदा पनि जो छन् उनीहरु शतप्रतिशत मेहनत गरिरहेका छन्। हामी जितका लागि मेहनत गर्नेछौँ, मुस्किल त छ तर अगाडि बढ्नु नै छ’ जिदानले भनेका छन्।
बेन्जेमा भ्यालेन्सियासँगको खेलमा चोटमा परेका थिए। त्यसबाहेक पनि महत्वपूर्ण खेलाडीहरु पहिलेदेखि चोटमा नै छन्। जसमा कप्तान सर्जियो रामोसको कमि पनि टिममा स्पष्ट देखिन्छ। यस्तै, डानी कार्भाजल, रोड्रिगो, फेडे भालभर्दे, अल्भारो ओड्रिओजोला, इडन हाजार्ड, मार्सेलो र इडर मिलिटाओ पनि चोटमा नै छन्।
ला लिगामा दोस्रो स्थानमा रहेको रियल मड्रिडको २४ खेलमा ५२ अंक रहेको छ। शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २३ खेलमा ५५ अंक रहेको छ। तेस्रो स्थानमा रहेको बार्सिलोनाको २२ खेलमा ४६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।