काठमाडौं– डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल भालाडोलिडलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
घरेलु टिम भालाडोलिडविरुद्ध रियलका कासिमिरोले गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो । खेलको ६५औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई १–० गोलको जित दिलाए ।
शनिबार राति नै भएको खेलमा अन्तिम समय सम्हालिन नसक्दा भ्यालेन्सियासँग सेल्टा भिगो २–१ गोलअन्तरले पराजित भएको छ । ९०औं मिनेटसम्म सेल्टा भिगोले १–० को अग्रता बनाएको थियो । तर अतिरिक्त समयमा भ्यालेन्सियाले सेल्टा भिगोविरुद्ध दुई गोल गर्दै जित निकालेको हो ।
अर्को खेलमा भने इल्चेले इबारलाई १–० ले पराजित गरेको छ । जितसँगै रियल मड्रिडले २४ खेलबाट ५२ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग अंक दूरी तीनमा झारेको छ ।
एथ्लेटिको मड्रिडको २३ खेलबाट ५५ अंक भने तेस्रो स्थानमा रहेको बार्सिलोनाको भने २२ खेलबाट ४६ अंक छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।