काठमाडौं– लिग लिडर एथ्लेटिको मड्रिड लेभान्टेसँग पराजित भएको छ । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा लेभान्टेले एथ्लेटिको मड्रिडलाई २–० गोलले पराजित गरेको हो ।
आफ्नै घरेलु मैदानमा एथ्लेटिको मड्रिड तुलनात्मक रुपमा कमजोर देखिएको लेभान्टेसँग स्तब्ध बनेको हो । लेभान्टेसँग एथ्लेटिको मड्रिड हार्नुको मुख्य कारण आत्मघाती गोल बन्यो । लेभान्टेका लागि अर्को गोल भने जर्ज डे फ्रुटोसले गरे।
खेलको ३०औं मिनेटमा एथ्लेटिको मड्रिडका मारियो हेर्मोसोले आफ्नै पोष्टमा गोल गरेपछि लेभान्टेले १–० गोलको अग्रता बनायो । पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको लेभान्टेले खेलको अतिरिक्त समयमा गोल गर्यो । जर्ज डे फ्रुटोसले गोल गर्दै लेभान्टेलाई २–० गोलको जित दिलाए ।
यो जितसँगै लेभान्टे २४ खेलबाट ३१ अंक बनाएर लिगको आठौं स्थानमा उक्लिएको छ । एथ्लेटिको मड्रिड भने यो हारसँगै आफ्नो फराकिलो अंकको अग्रता बनाउने मौका गुमाएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २३ खेलबाट ५५ अंक छ । दोस्रो स्थानको रियल मड्रिडको २४ खेलबाट ५२ अंक छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।