काठमाडौं– एभर्टनले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई पराजित गरेको छ । शनिबार राति भएको इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा एभर्टनले लिभरपुललाई २–० गोलअन्तरले पराजित गरेको हो ।
घरेलु टिम लिभरपुलविरुद्ध एभर्टनले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । लिभरपुलविरुद्ध एभर्टनको यो जित सन् १९९९ पछि पहिलो पटक हो । एभर्टनको जितमा रिचार्लिसन र गिल्फी सिगुरसनले गोल गरे । पहिलो हाफको सुरुवातमै एक गोलले पछि परेको लिरभपुलले दोस्रो हाफमा थप एक गोल खाएको थियो ।
खेलको तेस्रो मिनेटमा नै रिचार्लिसनले गोल गर्दै लिभरपुलविरुद्ध एभर्टनलाई अग्रता दिलाए । उनको गोलकै आधारमा एभर्टनले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । खेलको ८३ औं मिनेटमा गिल्फीले पेनाल्टीबाट गोल गरेपछि लिभरपुलविरुद्ध एभर्टनले २–० गोलको जित निकालेको हो ।
त्यस्तै, शनिबार राति नै भएको खेलमा चेल्सीले साउथह्याम्पटनसँग १–१ गोलको बराबरी खेलेको छ । पहिलो हाफसम्म १–० ले पछि परेको चेल्सीले दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै बराबरी खेलेको हो ।
अन्य खेलमा फुलहामले शेफिल्ड युनाइटेडलाई १–० गोलले हराउँदा बर्नली र वेष्ट ब्रुमले भने गोलरहित बराबरी खेलेका छन् ।
लिभरपुललाई पराजित गरेको एभर्टन सातौं स्थानमा छ । एभर्टनको २४ खेलबाट ४० अंक भएको छ भने छैटौं स्थानमा रहेको लिभरपुलको २५ खेलबाट ४० अंक छ । २४ खेलबाट ५६ अंक बनाउँदै म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा रहँदा २४ खेलबाट ४६ अंक बनाएको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ ।
तेस्रो स्थानमा रहेको लेस्टर सिटीको २४ खेलबाट ४६ अंक नै छ । साउथह्याम्पटनसँग बराबरीमा रोकिएको चेल्सी चौथो स्थानम छ । चेल्सीको २५ खेलबाट ४३ अंक छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।