काठमाडौं- विश्वकप फुटबल २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारीमा भइरहेको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट सात जना खेलाडी बाहिरिएका छन्। राष्ट्रिय टिमका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले क्लोज क्याम्पमा ३८ खेलाडीबाट घटाएर ३१ जना खेलाडी छनोट गरेका हुन्।
यो तेस्रो पटक खेलाडी कटौती गरिएको हो। यसअघि पहिलोपटक ५८ खेलाडीबाट ४३ खेलाडी छानिएको थियो भने दोस्रोपटक ४३ बाट ३८ खेलाडी छानिएको थियो।
यसपटक अर्पण केसी, सेसेहाङ आङदेम्बे, सरोज दाहाल, देवेन्द्र तामाङ, दिलेन लोक्तान, विकास तामाङ र सुवास गुरुङ टोलीबाट बाहिरिएका हुन्। यस्तै गोलकिपर किरण कुमार लिम्बु र फरवार्ड अभिषेक रिजाल देशबाहिर खेलमा व्यस्त रहेकाले उनीहरुको नाम समावेश गरिएको छैन। स्वास्थ्य समस्याका कारण देवेन्द्र तामाङ र सुमन अर्याल बाहिरिएका हुन्।
विश्वकप फुटबल २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटमा नेपालले अझै तीन खेल खेल्न बाँकी छ। विश्वकप छनोटमा समूह बी मा रहेको नेपालले अहिलेसम्म पाँच खेल खेल्दा एक जित, चार हारसहित तीन अंक जोडेको छ। चाइनिज ताइपेइलाई हराएको नेपालले अस्ट्रेलिया र जोर्डनसँग एक–एक साथै कुवेतसँग दुई खेल हारेको छ। नेपालले अब चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ।
को को छन् क्याम्पमा?
गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार
डिफेन्डर : रजीन धिमाल, विराज महर्जन, विकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ, दिनेश राजवंशी, अजित भण्डारी, सुरज बिके, रोहित चन्द, निशान खड्का, पाल्सङ लामा
मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ, सुनील बल, हेमन्त थापा मगर, एरिक विष्ट, तेज तामाङ, रवि पासवान, त्रिदेव गुरुङ, सन्जोक राई, अन्जन विष्ट
फरवार्ड : भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, आशिष लामा, जर्ज प्रिन्स कार्की
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।