काठमाडौं- राष्ट्रिय महिला लिग फुटबलको उपाधि विजेता टिम सशस्त्र प्रहरीको एपिएफ क्लबले लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० ले हराएको छ। योसँगै एपिएफले लिगमा सबै १२ खेल नै जितेको छ। १२ खेलमा एपिएफले ७७ गोल गर्दै एक गोल मात्रै खायो।
दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा एपिएफले आर्मीविरुद्ध पहिलो हाफको अन्त्यमा सरु लिम्बुको गोलमा अग्रता बनाएको थियो। खेलको ८६औँ मिनेटमा एपिएफका लागि अनिता केसीले गोल गरिन्। खेलको अन्तिम थप समयमा सरु लिम्बुले एपिएफका लागि तेस्रो गोल गरिन्। लिगमा एपिएफको १२ खेलमा ३६ अंक रह्यो। दोस्रोमा रहेको आर्मीको १२ खेलमा २६ अंक रह्यो।
शुक्रबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा चौदण्डीगढीलाई १०-० ले हराएको नेपाल पुलिस क्लबले तेस्रो स्थानमा लिग सकायो। पुलिसको १२ खेलमा १८ अंक रह्यो। चौदण्डीगढीले सबै खेल हारेर अंकविहीन भएको छ।
लिगमा चौंथो स्थानमा रहेको वालिङको १२ खेलमा १७ अंक, विराटनगरको १२ खेलमा १६ अंक, चन्द्रपुरको १२ खेलमा ९ अंक रह्यो। गएको बुधबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेपछि अंक दुरी राम्रो बनाउँदै एपिएफ विजेता पक्का भइसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।